– विनोदप्रसाद अधिकारी
शुक्रबार रसियाको केन्द्रीय निर्वाचन आयोगले राष्ट्रपतीय चुनावको अन्तिम नतिजा सार्वजनिक गर्यो, जसमा भ्लादिमिर पुटिन ७६ दशमलव ६९ प्रतिशत ल्याएर विजयी भए। पुटिनले आफ्नो चौथो पदभार आगामी मे महिना लिनेछन्।
अबको ६ वर्षमा रसियाले नयाँ पुटिन देख्न पाउँछ या पुरानै रहन्छन् भनी अलजजिराका पत्रकारले गरेको प्रश्नमा पुटिनले जवाफ दिए, 'सबै कुरा गतिशील छन्, सबै कुरा परिवर्तन भइरहन्छन्।'
तर पुटिनको चौथो जितपछि रसियामा परिवर्तन र गतिशीलता रहिरहनेछ भन्नेमा केही विश्लेषकहरुको शंका छ।
पुटिनको चौथो कार्यकालको सुरुवातसँगै उनको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नीति नियम खुम्चिने शंका सबैले गरेका छन्। अझ पुटिनको यो चौथो सत्तारोहरणले अहिले उनको तुलना सोभितकालीन समयका शासक लेनोड ब्रेजनेभसँग गर्न थालिएको छ, जसले सन् १९८२ सम्म करिब १८ वर्ष शासन चलाएका थिए।
'ब्रेजनेभसँग सत्ता र शक्तिको उतिसारो ज्ञान थिएन, न त उनीसँग देशको मुलभूत र तत्कालीन आवश्यकताबारे केही जानकारी थियो,' पराग्वेको इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका रिसर्च फेलो मार्क ग्यालिओट्टीले अलजजिरालाई भनेका छन्, 'अहिले पनि हामी पुटिनमा त्यही कुरा दोहोरिएको देख्छौं। उनीसँग निकै कम योजना र शक्ति छ। उनी अरुलाई सजिलै अघि आउन दिँदैनन् र आफू पनि छोड्न सक्तैनन्।'
सोभियतकालीन समयभन्दा अहिले रसियाको अवस्था सुधारिएको भए पनि यसको विदेश नीति र कूटनीतिमा परिवर्तन नदेखिने रसिया खुम्चिने खतरा पनि बढ्दै गएको छ। सन् २००८ देखि २०१२ सम्म संविधानको मर्यादा राख्नको लागि प्रधानमन्त्री बनेका पुटिनले चौथो कार्यकाल सकिएपछि फेरि पनि त्यही क्रिया दोहोर्याउने अनुमान व्याप्त हुन थालेको छ।
पुटिनको उत्तराधिकारी को बन्ने?
अन्तर्राष्ट्रिय समुदायबाट एक्लिँदै गएको रसिया र यसको सुस्त गतिको अर्थतन्त्रले पुटिनको अहिलेको कार्यकाल पनि त्यस समयका शासक लेनोड ब्रेजनेभको कार्यकालको झझल्को दिएको दाबी गरिएको छ।
लेनोड ब्रेजनेभले आफ्नो अन्तिम साससम्म पनि आफ्नो उत्तराधिकारी को हुन्छ भन्ने टुंग्याएका थिएनन्। कारण थियो उनको सत्ता प्रतिको मोह र आकर्षण।
तर अहिले भने पुटिन स्वयंले नै उत्तराधिकारीबारे सन् २००० देखि नै सोच्न थालेको बताएका छन्। एनबिसीसँगको अन्तर्वार्ता क्रममा आफ्नो विचार खुलाएका पुटिनले उत्तराधिकारीबारे १८ वर्षसम्म पनि मुख खोलेका छैनन्। केही हदसम्म आफुलाई लेनोड ब्रेजनेभको तुलनामा फरक देखाएका पुटिनले सत्तामा टाँसिएर बस्नुले फेरि पनि शंकालाई पनि प्रोत्साहन गरेको छ।
पुटिनलाई आफ्नो नाम र काम इतिहासका पानाबाट मेटिन्छन् वा हराउँछन् भन्ने डर सधैं रहेको रहेको छ। उनलाई आफ्नो कार्यकाल फितलो भएको भनी उल्लेख हुन्छ कि भन्ने त्रास सधैं रहिरहेको छ।
'क्रिमियालाई गाभेपछि भने उनले आफूलाई विश्वास गर्न थालेको आभास हुन थालेको छ,' मस्कोमा रहेको रेडियो इकोका प्रमुख सम्पादक आलेक्सिई टिप्पणी गर्छन्, 'तर उनले अहिले नै सत्ता भने छाड्ने छैनन्। उनको मिसन अझै पूरा भएको छैन। उनका योजनाको अन्त्य पनि भएको छैन र सबै पूरा हुन्छन् भन्नेमा कुनै ग्यारेन्टी छैन।'
तर पुटिनको भावी दिनका चुनौती भनेको उनी आफैंले स्थापना गरेको नियम हुनेछ। एकै व्यक्तिमा केन्द्रित रहेको सत्ता र शक्तिको अभ्यासले पुटिन स्वयंलाई भविष्यमा अप्ठेरो पार्ने विश्लेषण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।