एजेन्सी- रसियाको एक सपिङ सेन्टरमा भएको आगलागीमा परी ३७ जनाको मृत्यु भएको छ। केमेरेभोस्थित साइबेरियन सहरमा रहेको सपिङ सेन्टरमा आगलागी भएको हो। घटनामा ६४ जना हराइरहेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। केमेरोभो मस्कोको पूर्व भागमा पर्छ।
'घटनामा ३७ जनाको मृत्यु भएको छ। तर उनीहरुको पहिचान गर्न निकै गाह्रो भइरहेको छ,' आपतकालीन मन्त्रालयका बोरिस डेड्युखिनले भने। घटनामा मर्ने बालबालिको संख्या ९ जना पुगेको छ भने ४१ बालबालिका हराइरहेका छन्। ३० जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
सेन्टरको माथिल्लो तलाबाट आगो सुरु भएको हो। मृत्यु हुनेहरुमा सिनेमा हेर्न जानेहरु बढी छन्। सार्वजनिक भिडियोमा कतिपय झ्यालबाट हाम्फालिरहेको देख्न सकिन्छ।
मृतकहरुमध्ये हालसम्म १३ जनाको शवमात्र फेला परेको छ। सिनेमा हलबाट उनीहरुको शव निकालिएको स्थानीय अधिकारी भ्लादिमिर चेर्नोभले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।