काठमाडौं- तेस्रो संस्करणको न्यु डायमण्ड कप खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले प्रतियोगिताको बारेमा जानकारी दिएको हो। प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने छ। तर कुन–कुन क्लबले खेल्ने भन्ने टुंगो भने केही दिनमा लाग्ने प्रतियोगिताको संयोजक कुमार राईले जानकारी दिए।
प्रतियोगिताको मुख्य प्रयोजन होङ्गान्जी बौद्ध समाजले गरेको छ। होङ्गान्जीले प्रतियोगिताको लागि न्यु डायमण्डलाई १५ लाख नगद उपलब्ध गराउने छ।
त्यस्तै, प्रतियोगिताको राशि पनि बढेको छ। यसअघि पुरस्कार राशिमा विजेता हुने टिमले ३ लाख, उपविजेताले २ लाख र तेस्रोले १ लाख रुपैयाँ पाएको थियो। तर यो पटक भने पुरस्कार रकम बढाएर विजेतालाई ४ लाख १ सय १ रुपैयाँ राखिएको छ। त्यस्तै, उपविजेतालाई ३ लाख १ सय १ रुपैयाँ, तेस्रोलाई १ लाख ५१ हजार १ सय १ रुपैयाँ राखिएको छ। चौथो हुने टिमले ५१ हजार १ सय १ रुपैयाँ पाउने छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ पाउँदा उत्कृष्ट स्पाइकर, ब्लकर, क्वीकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।