लिमा– पेरुको न्यायिक निकायका अधिकारीहरुले पूर्वराष्ट्रपति पेड्रो पाब्लो कुज्यन्स्कीलाई कम्तीमा पनि १८ महिनासम्मका लागि देश छोड्न प्रतिबन्ध लगाएका छन्।
भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति पेड्रोलाई अनुसन्धनका लागि देश छोड्न प्रतिबन्ध लगाइएको न्यायाधीश जोन कार्लोस सान्चेजले शनिबार जानकारी दिए।
उनलाई ब्राजिलको एक निर्माण कम्पनी ओडेब्रेचसँग घुस लिएको र अनियमितता गरेको आरोप लगाई अनुसन्धान भइरहेको छ।
पूर्वराष्ट्रपति पेड्रोलाई लिमामा रहेको उनकै निवासस्थल र देशको ग्रामीण क्षेत्रमा पर्ने सिएनेगुल्लामा नै बस्न दिइने भएको छ।शनिबार पनि उनलाई त्यहीँ राखेर अनुसन्धान गरिएको छ।
पेरुको संसदमा बुधबारका लागि तय गरिएको उनीविरुद्धको महाभियोगसम्बन्धी दोस्रो चरणको मतदान कार्य सुरु हुनुअघि ७९ वर्षीय पेड्रोले पदबाट राजिनामा दिएका थिए।
उनलाई नैतिक रुपमा अयोग्य ठहर गर्दै यहाँको संसदले बुधबार महाभियोग प्रस्तावमा मतदान गर्ने तयारी गरिरहेको थियो।
आफूविरुद्ध गरिएको खानतलासीको विरुद्धमा प्रतिक्रिया दिँदै उनले ट्विटरमा लेखेका छन्,‘देशको प्रतिष्ठामा नै आँच आउनेगरी भइरहेका काम कारबाही तत्काल रोक्न म सरकारलाई आग्रह गर्दछु र सञ्चार माध्यमहरुलाई पनि मेरो यही आग्रह छ।’
उनले आफू डराउनुपर्ने कुनै कारण नरहेको बताउँदै भनेका छन्,‘म डराउनुपर्ने केही कारण छैन र अनुसन्धान अधिकारीहरुलाई मैले सहयोग गर्नछु।’ रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।