टोकियो– उत्तर कोरिया संसारकै लागि ठूलो त्रास भएको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले बताएका छन्।
उनले भने,‘उत्तर कोरियाले आणविक अस्त्रहरुको उत्पादन र परीक्षण गर्ने गरिरहेको छ। यो एसियाका लागि मात्र नभएर संसारकै लागि एउटा ठूलो त्रास बनेको छ।’
जापानको भ्रमणमा रहेका पूर्वराष्ट्रपति ओबामाले आइतबार राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा सो धारणा राखेका हुन्।
‘हामीले अहिले पनि उसका आणविक कार्यक्रमहरु र धम्कीका बारेमा सुनेका छौँ तर पनि यसको समाधानका लागि कुनै पहल गरेको सुनेका छैनौँ।’, उनले भने।
राष्ट्रपति ओबामाले थपे,‘उत्तर कोरियाले यस्तो प्रणालीको विकास गरिरहेको छ कि त्यसले विश्वलाई प्रतिदिन धम्कीमात्र दिइरहेको छ। तर त्यस समस्या समाधानका लागि कुनै एकमात्र देशले मात्र केही गर्न पनि सक्दैन।’
ओबामा प्रशासनका बेलामा उत्तर कोरियालाई संसारबाटै एक्ल्याउने रणनीति अपनाइएको र उसमाथि आर्थिक नाकाबन्दी लगाइएको सम्झन भ्याए।
यसबाट उत्तर कोरिया संसारबाटै एक्लिने मात्र नभएर आर्थिक रुपमा पनि घुँडा टेक्ने र अन्त्यमा उसले सबै हातहतियार त्याग्ने अनुमान गरिएको उनले बताए।
आइतबार पूर्व राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको थियो। त्यस अवसरमा दुई देशबीचको आर्थिक लगानी र सम्झौताका विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।