दमास्कस– सिरियाली विपक्षी दलको प्रभाव रहेको पूर्वी गुटा क्षेत्रबाट १ लाख भन्दा बढी सर्वसाधारण द्वन्द्वका कारण विस्थापित हुनुपरेको सिरियाली राज्य सञ्चालित साना न्यूज एजेन्सीले जनाएको छ।
विद्रोहीको राम्रो आधारस्थलका रूपमा चिनिने गुटा क्षेत्रमा सरकारी फौजले विगत एक महिना यता चलाएको कारबाहीपछि ठूलो सङ्ख्यामा सर्वसाधारण पलायन भै सुरक्षितस्थलतर्फ गएको सिरियाली सेनालाई उद्धृत गर्दै सानाले जनाएको हो।
‘पूर्वी गुटामा सरकारी फौज आक्रामक रूपमा विद्रोही विरुद्ध उत्रेपछि द्वन्द्वमा आफूहरूपनि पर्ने डरमा १ लाख ५ हजार मानिसले गुटा नजिकका सरकार नियन्त्रित क्षेत्रमा शरण लिन पुगेका छन्। तर यसबारे थप जानकारी भने सेनाले दिएको छैन,’ सानाले आफ्नो समाचारमा बताएको छ।
सिरियाली राज्य सञ्चालित टेलिभिजनले पनि करिब चार लाख जनसङ्ख्या रहेको गुटाबाट विस्थापितको यति नै सङ्ख्या रहेको समाचार प्रशारण गरेको छ।
विस्थापित सबैजना सिरियाली सेनाले मानवीय सहयोगका लागि खुला गरेको बाटोको प्रयोग गर्दै गुटाबाट बाहिरिएका विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन्।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।