सिओल- उत्तर कोरियाले अन्तर कोरिया उच्चस्तरीय वार्ता अर्को हप्ता गर्न शनिबार सहमति जनाएको छ।
दुर्लभ मानिएको अन्तर कोरिया शिखर सम्मेलनको व्यवस्थापनका बारेमा छलफल गर्न उच्चस्तरीय वार्ता हुनलागेको दक्षिण कोरियाको एकता मन्त्रालयले जनाएको छ। उच्चस्तरीय वार्तामा दुवै देशका तर्फबाट तीन/तीन जना प्रतिनिधि सहभागी गराइने मन्त्रालयले तयारी गरेको छ।
पान्मुन्जोमको एक ठाउँमा बिहीबार वार्ता हुने र त्यही वार्तामार्फत आउँदो अप्रिलको अन्त्यतिर शिखर सम्मेलन गर्नेगरी तयारी गरिने भएको छ।
दक्षिण कोरियाले अब हुन लागेको उच्चस्तरीय वार्तामा शिखर सम्मेलनको मिति र एजेण्डाका बारेमा छलफल गर्न उत्तर कोरियासँग गत बुधबार प्रस्ताव राखेको थियो।
‘युनिफिकेसन फेभिलियन विल्डिङ’मा हुने वार्तामा दक्षिण कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व एकता मन्त्री चो म्योउङ र उत्तर कोरियाको तर्फबाट उनका समकक्षी रि सन ग्वाङले नेतृत्व गर्ने भएका छन्।
दुई देशको शिखर सम्मेलनमा भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाका नेता किम जोङ उनका बीचमा भेटवार्ता गराउने लक्ष्य राखिएको छ।
गत फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकुदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिको सहभागिताबाट दुई देशको सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुस गरिएको छ।
दुई देशबीच सम्बन्ध सुधार हुँदै गएपछि उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा पनि नाटकीय रुपमा सुधार आएको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताएका छन्। उनले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने वाचा गरेकाले वार्ताका लागि आफू उत्साहित भएको केही समयअघि बताएका थिए।
राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्विटमार्फत गरेका छन्। उत्तर कोरियाली नेता किम जोङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।