सुनसरी- आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीमा थुनछेक बहस सुरु भएको छ।
इनरुवास्थित जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा महिला अधिकारकर्मीहरुले सिद्धबाबालाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्। बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबाविरुद्ध १० वर्ष कैद सजाय माग गर्दै बिहीबार मुद्दा दर्ता भएको थियो।
जिल्ला अदालतले बहसपछि उनलाई धरौटीमा हिरा गर्ने वा थुनामा पठाउने निर्णय गर्ने छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको थियो। आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई २५ दिनअघि पक्राउ गरेको थियो।
२५ दिनसम्म अनुसन्धान गरेर बिहीबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। गिरी हालसम्म हिरासत नभई अस्पतालमै बसिरहेका थिए। गिरीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको छ।
यस दफा अनुसार १८ वर्ष वा सो भन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

सर्मथक र विरोधी दुवै सडकमा
अहिले सिद्धबाबाका अनुयायीहरुले पनि राम राम हरे हरेको नारा लगाउँदै प्रर्दशन गरिरहेका छन्। अनुयायीहरु कृष्णदासको पक्षमा प्रर्दशनमा उत्रिएका हुन् भने महिला अधिकारकर्मीहरु उनलाई कारबाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका हुन्।
अधिकारकर्मीहरुले बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गरिरहेका छन्। यस्तै, उनका अनुयायीहरु भने श्रीराम जय राम जय जय राम भन्दै प्रर्दशनमा छन्।
सिद्धबाबालाई फसाएको जिकीर गर्दै सर्मथकले र्याली गरेका थिए भने धर्मको आँडमा अस्मिता लुट्ने बलात्कारीलाई फाँसी दे भन्दै महिलाहरुले आन्दोलन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।