काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबारदेखि चुनावी समीक्षा र आगामी रणनीति तय गर्न बसेको जारी बैठकमा नेता प्रकाशमान सिंहले नेतृत्वको कमजोरीका विषय उठाउँदै २४ बुँदामा आफ्ना लिखित सुझाव र धारणा राखेका थिए।
नेता सिंहपछि नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति देउवाकाे अालाेचना गरे। उनले अब पनि नफेरिए कांग्रेस समाप्त हुनेसम्मको चेतावनी पार्टी नेतृत्वलारइ दिए। सभापति देउवातिर संकेत गर्दै सिटाैलाले पार्टी याे अवस्थामा पुग्नुमा नेतृत्वकाे दाेष कहिलेसम्म स्विकार गर्ने भन्दै प्रश्न गरेका थिए।
उनले अझै पनि ठिक छु भन्दै हिँड्ने हो र नफेरिने हो भने देश अर्कैको कब्जामा जाने उल्लेख गरेका थिए। बैठकमा उपस्थित एक नेताका अनुसार सिटौलाले लिखित प्रतिवेदन पेश गरेका थिएनन्, तर लामो भाषणमार्फत चुनावी समीक्षा गरेका थिए।
‘जस्तो छु, त्यस्तै ठिक छ भनेर हिँड्ने हो भने पार्टी त तपाईँले कब्जा गर्नुहोला देश अर्कैको कब्जामा जान्छ,’ सिटौलालाई उदृत गर्दै ती नेताले भने, ‘नीतिगत, रणनीतिगत र नेतृत्वको प्रवृत्ति लगायत सबै कुरामा आमूल परिवर्तन नभई अब आउने चुनौती पार्टीले थेग्न सक्दैन। पार्टी नै समाप्त भएर जान्छ।’
कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबारलाई सकिएकाे छ। बैठकमा पूर्वमहामन्त्री सिंह र सिटौला तथा नेता नारायण खड्काले आफ्नो मत राखे। शुक्रबारको बैठक सकिए लगत्तै युवा नेताहरु नक्सालमा छुट्टै छलफल र रणनीति बनाउँदै छन्। शनिबारकाे वैठकमा उठाइने विषयमा रणनीति तय गर्न युवा नेताहरु छलफलमा जुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।