नेपालगञ्ज– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायीत्वका लागि कानुन व्यवसायीहरुले महत्वपूर्ण भूमीका खेल्नुपर्ने बताएकी छन्।
१४औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको आज नेपालगञ्जमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रिकरण प्रक्रियामा नेपाल बार एसोसिएशनले खेलेको भूमीका प्रशंसनिय भएको बताइन्।
पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका भएको बताउँदै राष्ट्रपति भण्डारीले त्यसतर्फ सम्मेलनको ध्यान आकृष्ट हुनुपर्ने टिप्पणी गरिन्। राष्ट्रपति भण्डारीले न्यायपालिकाको परम्परागत छवीलाई अझै सुदृढ पार्न कानून व्यवसायीहरुको भूमीका महत्वपूर्ण हुनमा जोड दिइन्।
न्यायपालिकाको शक्ति जनविश्वास भएको बताउँदै उनले संविधान र कानूनको व्याख्यामा एकरुपतामा सहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्ष अग्रसर हुनुपर्ने धारणा राखिन्।
सम्मेलन उद्घाटन समारोहमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कानूनी पैरवीकर्ताका रुपमा एसोसिएशनले आफुलाई स्थापित गर्नुपर्ने तर्क गरे। उनले नयाँ राजनीतिक परिवेशभित्र संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक सम्वृद्धि र विकास योजनालाई पनि सँगै लिएर हिड्नुपर्ने आवश्यकता रहेको बताए।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपालको संविधानमाथि कसैको हस्तक्षेप कदापि स्विकार्य नहुने स्पष्ट पार्दै नेपाली जनता र मुलुकको आवश्यकता अनुसार संविधान संशोधन गर्न हामी आपैm सक्षम रहेको बताए।
नेपाल बार एसोसिएशनले आयोजना गरेको सो सम्मेलनमा कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी, नेपाल सरकारका महान्यायाधिवक्ता, प्रदेश र प्रतिनिधि सभाका सांसद लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो।
आइतबारसम्म चल्ने सम्मेलनमा १० वटा विषय प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरी नेपालगन्ज घोषणापत्र जारी गर्ने बताइएको छ। सम्मेलनमा मुलुकभरीका करिब ३ हजार कानून व्यवसायीहरुको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।