काठमाडौं- मोडलिङमा काम लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जना पक्राउ परेका छन्। मोरङ प्रहरीले भारतमा लगेर युवती बेच्ने योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई मोरङको बुढीगंगा गाउँपालिका-१ बाट पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुले बिहीबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा नवलपरासी कावासोती-१ बस्ने २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजविराज-१४ बस्ने ४० वर्षीय उमेश साह, दाङको घोराही १० की २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरीकाे सप्तकोशी ११ का ३५ वर्षीय उमेश माझी, विराटनगर ८ का दिलिप पोद्दार छन्।
त्यस्तै धादिङ खनियाबास-२ का २३ वर्षीय प्रेम तामाङ र सुनसरी गढी नपा १ का ३७ वर्षीय रञ्जीतकुमार चौधरीसमेत पक्राउ परेको मोरङ प्रहरीले जनाएकाे छ।
.jpg)
पक्राउ परेकाहरूबाट प्रहरीले १ लाख ९ हजार ५ सय रूपैयाँसमेत बरामद गरेको छ। यसका साथै सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक तथा चाँदीको जन्तर २ थानसमेत बरामद भएको छ। यसैगरी कृष्ण तामाङका नाममा रहेका विभिन्न बैंकले जारी गरेका ७ थान एटिएम तथा तान्त्रिक पूजाका सामग्रीसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
.jpg)
सो गिरोहले मोडलिङका लागि विभिन्न शर्त राखेको र ती युवतीको शारीरिक परीक्षणसमेत गरेको थियो। मोडलिङका लागि ती युवतीलाई प्रेममाया तामाङले प्रस्ताव गरेकी थिइन्। उनले कम्तीमा ६ फिट उचाइ चाहिने र महिनावारी भए नभएको परीक्षण गर्नुपर्ने शर्तसमेत राखेकी थिइन्। यी सबै शर्त पूरा गरेकी ती युवतीलाई विराटनगर लगी तान्त्रिक पूजा गराउने र त्यसका लागि भारत जानुपर्ने बताएका थिए। यस्तो योजना बनाउँदै गर्दा प्रहरीले मोरङको बुढीगंगा १ बाट उनीहरूलाइ पक्राउ गरेको थियो। पीडित युवतीको भने परिचय खुलाइएको छैन।
.jpg)
पक्राउ परेका ७ जनालाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामध्ये उमेश माझी जिल्ला प्रहरी कार्यालयबाट यसअघि पनि अपहरण तथा शरीर बन्धक तथा हातहतियार मुद्दामा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यक्ति भएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।