बुटवल- प्रदेश ५ ले प्रदेश सरकारको आर्थिक कार्यविधि विधेयक सर्वसम्मतिले पारित गरेको छ। चैत ४ गतेको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले उक्त विधेयक पेश गरेका थिए।
प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले विधेयकलाई निर्णयार्थ पेश गरेका थिए। उक्त प्रस्तावमा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
उक्त आर्थिक विधेयक ५ नम्बर प्रदेश सरकारको पहिलो विधेयक हो। विधेयक पारित भएसँगै उक्त प्रदेशले आर्थिक कारोबार गर्ने बाटो खुलेको छ। विधेयक पारित नहुँदा संघीय सरकारबाट प्राप्त १ अर्ब २ करोड रुपैयाँ प्रदेश सरकारले खर्च गर्न सकेको थिएन।
प्रदेश सरकारले अब आर्थिक विधेयककै आधारमा राजस्व र स्रोतको अनुमान गर्ने, आम्दानी र खर्चको सीमा निर्धारण गर्ने, बजेटको प्रस्ताव र छलफल गर्ने, विनियोजन विधेयक तयार गर्ने, रकमान्तर र श्रोतान्तर गर्ने जस्ता आर्थिक काम-कारबाही अगाडि बढाउनेछ।
प्रदेशसभाको अर्को बैठक चैत १५ गतेसम्मको लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।