विराटनगर– पानी ट्यांकी निर्माणको विषयमा विवाद हुँदा सुनसरीको धरानमा झडप भएको छ। धरानमा १४ विजयपुरस्थित पञ्चकन्या क्षेत्रमा पानी ट्यांकी निर्माणका लागि प्रयोग भएका दुइटा एक्स्काभेटरमा तोडफोड भएपछि बुधबार साँझ झडप भएको हो।
झडपमा प्रहरीको लाठी प्रहारबाट कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्का अब्बास मिया, नैनबहादुर विक, भोक्राहाका हलिम मियाँ, इलामका खाङसाङ लावती, धरानका रोहित लम्बु र प्रेम मादेन लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन्। प्रहरीले चार राउण्ड अश्रुग्यास प्रयोग गरेको छ।
‘विजयपुर दरबार परिसर संरक्षण राजनीतिक संघर्ष समिति’को नेतृत्वमा पुगेको समूहले एक्स्काभेटर तोडफोड तथा आक्रमण सुरु गरेपछि झडप भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले ट्यांकी निर्माणमा अवरोध पुर्याउँदै ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुन थालेपछि बाध्य भएर अश्रुग्यास प्रहार गरिएको जनाए। झडपका क्रममा विजयपुर क्षेत्र तनावग्रस्त बनेको थियो।
धरान खानेपानी आयोजनाको निर्माण ठेक्का पाएको तियान्जीन तुदी जेभीको एक्स्काभेटर तोडफोड गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले बताए। सरकारको एकीकृत सहरी विकास आयोजनाले धरानमा एसियाली विकास बैंकको १ अर्ब ४८ करोड रुपैयाँ ऋण तथा अनुदानमा धरान खानेपानी योजना तीन वर्षअघिदेखि सञ्चालन हुँदै आएको छ। यस क्षेत्रमा ६ लाख लिटर क्षमताको टंकी निर्माण गरी विजयपुर क्षेत्रमा खानेपानी वितरणको योजना छ।
आयोजनाले धरानका विभिन्न स्थानमा निर्माण गरेका चारमध्ये विजपुरको डाँडामा पानी ट्याङ्की निर्माणको काम मंगलबारदेखि मात्रै सुरु भएको हो। तर निर्माणले लिम्बुवानको पुर्खा किराँतीहरुको इतिहास मेटिने काम भएको भन्दै काम रोक्न खोजिएको थियो। निर्माण कार्य प्रभावित गर्न धरान बाहिरबाट ५ गाडी युवाहरु ल्याएर भिडन्त गराएको एमालेका धरान नगर कमिटी अध्यक्ष नारायण सुवेदीले आरोप लगाएका छन्। भाडामा मान्छे ल्याएर धराने जनतालाई पानी खुवाउन सुरु गरिएको काममा अवरोध गर्नु निन्दनीय भएको उनले बताए।
झडपलगत्तै संघर्ष समितिले धरानको भानुचोकमा कोणसभा गरी पानी ट्यांकी निर्माणले विजयपुरको ऐतिहासिक पुरातात्विक क्षेत्र नष्ट हुने भन्दै अन्यत्र सार्न आग्रह गरेको छ। आयोजना पक्षले भने विकल्प खोजे पनि भूमिगत पानीको चापअनुसार उचाइमा रहेका धरानका फुस्रे र विजयपुरका उपभोक्ताका लागि पहिले नै सर्भे, डिजाइन र पाइपलाइन विस्तार गरेकाले अन्यत्र सार्न नसकिएको जनाएको छ।
धरान उपमहानगरपालिकाले स्थिति साम्य पार्न ट्यांकी निर्माण कार्यलाई केही समयका लागि स्थगित गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।