काठमाडौं। बाढी, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी र हुम्लाका महत्वपूर्ण सडक खण्डमा यातायात प्रभावित भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसपछि आएको बाढीका कारण सडकको ठूलो भागमा क्षति पुगेको छ।
त्यस्तै, त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
हाल स्याफ्रुबेंसीसम्म पुग्नका लागि एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किलोमिटर–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न सकिने बताइएको छ।
मनाङमा रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसारसम्म जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खण्डमा बाढी आएपछि यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
हुम्लामा पनि प्रमुख सडक खण्डहरू अवरुद्ध भएका छन्। नाम्खा गाउँपालिका–४ र सिमकोट गाउँपालिका–७ अन्तर्गत ठाडोढुंगा र यालबाङ क्षेत्रमा सडक अवरुद्ध भएपछि सिमकोट–हिल्सा सडक खण्डमा यातायात प्रभावित भएको छ।
प्रहरीका अनुसार बाढी, पहिरो र नदी कटानका कारण सडक संरचनामा क्षति पुगेकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन आवश्यक देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।