काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् । गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कोइराला कांग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए । अध्यक्ष दाहालले आफूलाई गिरिजाप्रसाद कोइरालाको प्रत्येक कार्यक्रममा पनि बोलाउन आग्रह गरे ।
'गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ', उनले भने, 'गिरिजासँग मेरो शान्ति प्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा बोलाउनुहोला ।’ पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले शान्ति प्रक्रिया अगाडि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रुपमा निषेधको सम्बन्ध रहेको तर शान्ति प्रक्रियामा ल्याउँदा भने सम्बन्ध राम्रो भएको उल्लेख गरे । मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घन्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्न शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।




अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पुर्याउनुपर्ने बताए । ‘जसरी कांग्रेस र कम्युनिस्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य भयो’, उनले भने, ‘ठीक त्यसैगरी अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्न सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्छ ।’ अध्यक्ष दाहालले राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको भन्दै थपे, 'सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रुपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौं भने मात्र गिरिजाको सपना पूरा हुन्छ ।' रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।