काठमाडौ- एनसेल लाभकर विवाद अब सर्वोच्चमा पुनरावलोकन नहुने भएको छ। पछिल्लो पटक भएको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै पूर्वप्रशासकहरुले दायर गरेको एक सार्वजनिक सरोकारको निवेदनमा मंगलबार सर्वोच्चले आगामी दिन आउनसक्ने पुनरावलोकनको बाटो बन्द गरेको हो।
न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलाशले यो विवादसम्बन्धी निवेदन सुनुवाइ गर्दै यस्तो बाटो बन्द गरेको हो।
एनसेल लाभकरसम्बन्धी दुईवटा फैसला सर्वोच्चबाट हुँदा अन्योल सिर्जना भएको भन्दै पूर्वप्रशासकहरु द्वारिकानाथ ढुङ्गेल र सुकदेव खत्रीले सार्वजनिक सरोकारको रिट दिएका थिए। उक्त रिट सुरुमा सर्वोच्चको रजिष्ट्रार तहबाट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिएको थियो।
दुवै विवाद पाँच न्यायाधीशको इजलाशबाट किनारा भएको र केही बुँदाको व्याख्या गर्नुपर्ने देखिएको भन्दै उनीहरुले पुनरावलोकन हुनुपर्ने रिट दर्ता गर्न ल्याएका थिए। रजिष्ट्रारले पूर्ण इजलाशवाट किनारा भएकाले अब फेरि दर्ता नहुने भन्दै दरपीठ गरिदिएको थियो।
रजिष्ट्रारको उक्त निर्णयविरुद्ध उनीहरूले इजलाशमा निवेदन दिएका थिए। उक्त निवेदन मंगलबार ढुङ्गानाको इजलाशले दरपीठ सदर हुने निर्णय गरेको हो । यो निर्णयसँगै अब एनसेल लाभकर विवादसम्वन्धी विवाद सर्वोच्चमा सुनुवाइ हुने छैन।
एनसेल लाभकरको अन्तिम समयसीमा कटाएर ठूला करदाता कार्यालयले १५ दिनको चेतावनी पत्र पठाएको समयमा सर्वोच्चको यस्तो निर्णय आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।