काँकडभिट्टा- लामो समयदेखि ‘गाउँसरह’ मानिएको भद्रपुर नगरपालिकामा एकैपटक ७० भन्दा बढी सडक निर्माणको कामले गति लिएको छ।
नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार शहरी विकास कार्यक्रम अनुसार सडक निर्माणका लागि केन्द्र सरकारले आगामी तीन वर्षमा २ अर्ब रुपैयाँ बजेट पठाउने भएपछि निर्माणले गति लिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा पूर्व-पश्चिम राजमार्गसँग नजोडिएका सदरमुकामको सडक विकासका लागि सरकारले बर्सेनि ५० करोड रुपैयाँ बजेट दिने घोषणा भएको थियो। सो घोषणा अनुसार हरेक वर्ष भद्रपुरले ५० करोड रुपैयाँभन्दा बढी बजेट सरकारबाट पाउँछ।
भद्रपुर नगर क्षेत्रका सबै सडकमा डोजर चलाइएको छ भने कालोपत्रेका लागि पक्की ड्रेन निर्माण जारी छ।
चारआलीबाट भद्रपुर जाने सडक र ज्यामिरगढीबाट भद्रपुर जाने ती सडकमा हाल धमाधम नाली बनाउने र गिटी बिछ्याउने काम भइरहेको छ। पृथ्वीनगर र महेशपुरतिरका बाटा खन्ने काम सकिएको छ। ५ लाख रुपैयाँदेखि एक करोडसम्मका सडक परियोजना निर्माणका क्रममा छन्। सडकको गुणस्तर कायम गर्न नगरपालिकाको अनुगमन टोली निरन्तर खटिएको छ।
अहिले आइसकेको बजेटले आगामी तीन वर्षमा ७० किलोमिटर सडक कालोपत्रे गर्न पुग्ने र थप बजेट ल्याउन सके पाँच वर्षभित्र नगरका सबै सडक कालोपत्रे हुने सम्भावनालाई दृष्टिगत गर्दै नगरपालिकाले काम अघि बढाएको नगर प्रमुख जीवन श्रेष्ठले बताए।
इञ्जिनियर रञ्जितकारका अनुसार नगरपालिकाले हरेक दिन दिउँसो २ बजेपछि प्राविधिक र जनप्रतिनिधिको टोली अनुगमनमा निस्कने तालिका बनाएको छ।
भद्रपुर झापाभरिमा सबैभन्दा पहिले ‘कच्ची सडकमुक्त’ नगर घोषणा हुने सम्भावना देखिएको स्थानीय पत्रकार गोपाल गिरीले बताए।
भद्रपुरको विकासले तीव्र गति लिनुमा जनप्रतिनिधिमा भएको आपसी समझदारीलाई पनि महत्वपूर्ण कडी मानिएको छ। झापामा सबैभन्दा पहिले नगरसभा भद्रपुरले नै सम्पन्न गरेको थियो।
– चन्द्रकला भण्डारी/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।