काठमाडौं- समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ। पार्टीको पदाधिकारी बैठकले मंगलबार सरकार छाड्ने निर्णय गरेको हो।
ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारीको बैठकले यस्ताे निर्णय गरेको समाजवादीका एक नेताले बताए।
उनका अनुसार, केही बेरमा संसदीय दलको बैठक बसेर औपचारिक निर्णय सार्वजनिक गरिने छ।
संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव राखेका थिए।
सविधान सशाेधनका लागि सरकारमा गएकाे तर साेही कुरा पुरा नहुने भएपछि बस्नु उपयुक्त नहुने भएकाले यस्ताे निर्णय गरेकाे ती नेताले बताए।
तत्कालीन संघीय समाजवादी फोरम २०७५ जेठमा सरकारमा सहभागी भएको थियो।