हेटौँडा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताएका छन्।
प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताए। अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट राजधानी सार्ने हल्लापछि नलाग्न सबैमा आग्रह गर्दै प्रदेशको नामको सन्दर्भमा प्रदेशसभाले निर्णय गर्ने बताए।
‘यो वर्ष निर्वाचन वर्ष’ रहेको र अब आर्थिक समृद्धिको समय रहेकाले यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ थियो। अध्यक्ष दाहालले सरकारमा दुई तिहाईको बहुमत पुगिसकेको अवस्था रहे पनि समग्र विकासको गति बढाउन र राजनीतिक स्थायित्वका लागि मधेसकेन्द्रित दलको समेत समर्थन पाइसकेको जानकारी दिए।
एमाले र माओवादी केन्द्रको एकता अबको केही दिनमा नै हुने बताउँदै उनले एकता प्रक्रिया पूरा गर्नका लागि बनेको कार्यदलले आफ्नो काम पूरा गरी प्रतिवेदन बुझाउने तयारीमा रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।