काठमाडौं- यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूमा सबै प्रकारका सवारी साधनबाट मासिक रु १० करोडसम्म कर संकलन हुने गरेको छ। कार्यालयमा दैनिक २०० देखि ५०० सवारीधनीले कर बुझाउने गरेको लेखापाल सुदर्शन ढकालले जानकारी दिए। सवारी करबाट मासिक रु सात देखि १० करोड राजस्व आम्दानी हुने गरेको छ।
कर संकलनका हिसाबले मुलुकभरका यातायात कार्यालयमध्ये यो चौथो ठूलो कार्यालय भएको उनले जानकारी दिए। यातायात कार्यालयमध्ये सबैभन्दा बढी राजस्व संकलन गर्नेमा काठमाडौँको एकान्तकुनास्थित कार्यालय, गुर्जुधारा र तेस्रोमा नारायणी अञ्चल यातायात कार्यालय रहेका छन्।
सवारीसाधनको कर बुझाउन चैतदेखि असारसम्म भने तुलनात्मक बढी चाप हुने गरेको छ। मुलुकभर हाल झण्डै २३ लाख विभिन्न प्रकारका सवारीसाधन छन्। कार्यालयमा कर्मचारीको दरबन्दी १० जनाको रहेको ढकालले बताए।
कार्यालयले गत वर्षमा रु ७३ करोड कर संकलन गरेको थियो भने यस वर्ष गत फागुन समान्तसम्म रु ७८ करोड ५२ लाख कर संकलन गरिसकेको छ। मुलुकभरका यातायात कार्यालयको कर संकलन गर्ने कम्प्युटर सफ्टवेयर फोकस वन नामक निजी कम्पनीले सञ्चालन गर्दै आएको छ। मुलुकभरका यातायात कार्यालयमा कर संकलनमा सहयोग गर्न उक्त कम्पनीका ११४ कर्मचारी कार्यरत छन्।
विसं २०६६ देखि उक्त कम्पनीले यातायात कार्यालयको कर संकलनको सफ्टवेयर सञ्चालन गर्दै आएको लेखापाल ढकालले बताइ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।