काठमाडौं- नेपाल निजामती कर्मचारी युनियन (संघ) को अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन्। रत्ननगरमा भएको सातौं महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी भएका हुन्। मंगलबार राति ३ बजे सकिएको महाधिवेशनमा उनले बुढाथोकीभन्दा ३० मत बढी ल्याएका हुन्।
कूल ५ सय ४५ मत खसेकोमा पोखरेलले २ सय ८४ र बुढाथोकीले २ सय ५४ मत पाए। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३ सय ६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षका प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १ सय ७० मत ल्याए।
उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित भएका छन्। महासचिवमा सुवास कोइराला निर्विरोध भएका छन्।
वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै, खुल्लातर्फको उपाध्यक्षमा उत्तमकुमार कटवाल, महिला उपाध्यक्षमा शान्ता अर्याल, आदिवासी उपाध्यक्षमा प्रदीप श्रेष्ठ र मधेशी उपाध्यक्षमा मनोजकुमार तिवारी निर्वाचित भएका छन्।
प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट दीपेन्द्र खत्री, प्रदेश २ बाट राजकिशोर राउत, प्रदेश ३ बाट एकनारायण शर्मा काफ्ले, प्रदेश ४ बाट शिव शर्मा अधिकारी, प्रदेश ५ बाट मदन गौतम, प्रदेश ६ बाट नृपजंग शाही र प्रदेश ७ बाट नारायणप्रसाद शर्मा विजयी भए।
उपमहासचिमा दुर्गा फुयाँल, यज्ञराज अर्याल विजयी भए भने ४ सचिवमा जनक रावल, नवराज जैसी, यज्ञबहादुर ओली र शंकर पाण्डे विजयी भएका छन्।
मधेश सचिवमा अशोककुमार रौनियार र आदिवासी सचिवमा मनोजकुमार विजयी भएका छन्। निर्वाचनबाट ५९ सदस्यीय पदाधिकारी चयन भएको छ।
खुल्लामा ७ सदस्य, ५ जना महिला, ४ मधेशी र १ आदिवासीका तर्फबाट निर्वाचित भएको केन्द्रीय सदस्य भरत मैनालीले जानकारी दिए।
विभिन्न ९ सेवा समूहबाट सदस्यहरु निर्वाचित भएको उनले बताए। मैनाली न्याय सेवावाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
उनका अनुसार बुधबार सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ। ५ जना सदस्य भने नयाँ कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ।
चैत ४ देखि चलेको महाधिवेशनमा देशभरका ५ सय ६९ प्रतिनिधिमध्ये ५ सय ४५ जना सहभागी थिए। महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।