रसुवा– उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको निर्माण कार्य दु्रत गतिले अगाडि बढेको छ।
हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने ४ हजार २ सय मिटर हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्म ७७ प्रतिशत निर्माण पूरा भएको छ। खन्न बाँकी काम पूरा गराउन करिब २० प्राविधिक एवम् ३ सय मजदूरले काम गरिरहेका छन्।
सन् २०१४ देखि भूमिगत संरचनाबाट निर्माण अगाडि बढेको रसुवागढी हाइड्रोपावर सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
१३ अर्ब ६४ करोड ४० लाख रुपैयाँको लागत आयोजनाको निर्माण कार्य भइरहेको छ। आयोजनामा निर्माण गर्नुपर्ने ३ सय १३ मिटरको पेनस्टक पाइप राख्ने सुरुङ, भोटेकोशीमा बाँध र विद्युत्गृह निर्माणको काम दु्रत रुपमा अगाडि बढिरहेको साइट इञ्चार्ज प्राविधिक गौतम खड्काले जानकारी दिए।
भोटेकोशी नदीमा बाँध बाँधी विद्युत गृहमा सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी पठाई १ सय ११ मेगावाट अर्थात् ६१ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने बताइएको छ।
२०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको २२ मेगावाट क्षमताको चिलिमे र १ सय ११ मेगावाटको रसुवागढी मात्र सम्पूर्ण भूमिगत संरचना भएका आयोजनामा पर्ने प्राविधिकले बताएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।