काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि २०७५ असोज १५ गतेदखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) कार्यान्वयनमा ल्याएको छ।
यस प्रणालीमार्फत प्रविधिमैत्री तरिकाबाट व्यवसायी, श्रमिक तथा सरोकारवाला सबै सामु वैदेशिक रोजगारसम्बन्धी सूचना तथा सेवा प्रवाह गरी सेवालाई पारदर्शी, सहज र सुलभ बनाउने सरकारको लक्ष्य छ।
यस प्रणालीले वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, म्यानपावर व्यवसायी, राहदानी विभाग, मेडिकल व्यवसायी, बैंक, बीमा कम्पनी, ओरेन्टिएसन केन्द्र, वैदेशिक रोजगार कार्यालय, इमिग्रेसन विभाग, नेपाली दूतावास, कन्सुलर सेवा विभाग, श्रमिकलगायत सम्बन्धित सबै सरोकारवालाहरुलाई एकै ठाउँमा समेट्छ।
सम्बन्धित सबै सरोकारवालालाई यो प्रणालीमा आबद्ध हुन लग इन आइडी उपलब्ध गराइन्छ।
वैदेशिक रोजगार विभागका महादिर्नेशक भीष्मकुमार भुसाल भन्छन्, ‘यो प्रणालीको विकास भएसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृतिका लागि श्रम कार्यालयसम्म दिनहुँ धाउनु पर्ने अवस्थाको पनि अब बिस्तारै अन्त्य हुन्छ। हामीले घरमै बसेर श्रम स्वीकृतिको काम आफैँ गर्न सक्ने प्रणाली लागू गर्दैछौँ।’
विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि विद्युतीय श्रम स्वीकृतिको निस्सा इलेक्ट्रिक स्टिकर प्रणाली कार्यान्वयनमा ल्याइसकेको छ। यो व्यवस्थाबाट नक्कली स्टिकर बनाई ठगी गर्ने गिरोहहरुको धन्दाको अन्त्य भएको छ।
त्यस्तै विभागले लागू गरेको विद्युतीय पालो (ई-टोकन) प्रणालीबाट दिनहुँ श्रम कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भई श्रमिकहरु आफ्नो पालोमा कार्यालय आउन पाउने व्यवस्थाको विकास भएको छ। राहदानी विभागबाट नै श्रमिकका सम्पूर्ण विवरण सिस्टमले राखिसकेको हुँदा श्रमिकको पासपोर्ट नम्बर र जन्ममिति राख्नेबित्तिकै सबै जानकारी सिस्टमले देखाउने हुँदा बाँकी प्रकृयाका लागि समय नलाग्ने बताइएको छ।
वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमार्फत कुन देशबाट कुन कुन कामका लागि डिमाण्ड आएको छ?‚ तलब तथा सेवासुविधा के कस्तो छ?,म्यानपावरले देखाएको करारनामा पत्रमा भएको सेवासुविधा छ/छैन भनेर जानकारी लिन सजिलो हुने भएको छ।
गन्तव्य मुलुकस्थित दूतावासले कामदारको डिमाण्ड प्रमाणीकरण गरी एफइआइएमएस प्रणालीमा राखिदिएपछि सम्बन्धित सरोकारवाला सबैले यस्तो जानकारी पाउँछन्।
म्यानपावर व्यवसायीहरु पनि पूर्व श्रम स्वीकृतिका लागि फाइल बोकेर श्रम कार्यालय ताहाचल धाइरहनु पर्ने अवस्थाको अन्त्य हुने भएको छ। म्यानपावरले पूर्व श्रम स्वीकृतिका लागि आवश्यक फाइल वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा राखिदिएपछि विभागले त्यसको भेरिफाई गर्दछ।
पूर्व श्रम स्वीकृतिको सम्पूर्ण काम वैदेशिक रोजगार कार्यालयले गरिदिन्छ। म्यानपावर व्यवसायीहरुले डिमाण्डअनुसार कामदारको आवेदन माग तथा आवेदन दिनेहरुको सूचि पनि सोही प्रणालीमा राख्न सकिने व्यवस्था छ।
डिमाण्डसंख्याभन्दा २५ प्रतिशत बढीलाई मात्रै अन्तरवार्तामा सामेल गराउन पाइने
म्यानपावर व्यवसायीले रोजगारदाताले कुनै कामका लागि गरेको डिमाण्डभन्दा २५ प्रतिशत बढी श्रमिकहरुलाई मात्रै अन्तवार्तामा सामेल गराउनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए।
अब म्यानपावर व्यवसायीहरुले डिमाण्डमा उल्लेखित संख्याभन्दा २५ प्रतिशत बढी संख्यामा मात्रै श्रमिकहरुलाई अन्तरवार्ताका लागि सहभागी गराउन पाइन्छ। त्यसबाट आवश्यक संख्या छनोट गर्नुपर्दछ।
‘एउटा कामको लागि २ सय श्रमिकको डिमाण्ड छ, अन्तरवार्ताका लागि ५० जनामात्रै श्रमिक आए भने यस्तो अवस्थामा के हुन्छ? विभागले हामीलाई कारबाही त गर्दैन?’ वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले विभागका महानिर्देशक भुसालसँग प्रश्न गरे।
यस्तो अवस्थामा पुनः कामदारको आवेदन माग गरी अन्तवार्ता लिन सकिने महानिर्देशक भुसालले जानकारी दिए।
कुन कामका लागि कुन देश वा कम्पनीबाट कति श्रमिकको डिमाण्ड आएको छ? अन्तरवार्ताका लागि कतिले आवेदन दिए? कति श्रमिक अन्तवार्तामा सामेल भए भन्ने सम्पूर्ण जानकारी एफइआइएमएस प्रणालीमार्फत लिन सकिन्छ।
कुवेत र युएईस्थित दूतावासले सुरु गरे एफइआइएमएस प्रणालीमार्फत काम
कुवेत तथा युएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफइआइएमएस प्रणालीमार्फत आफ्नो काम सुरु गरेका छन्।
प्रमाणीकरण भएका डिमाण्डहरुलाई उनीहरुले यस प्रणालीमार्फत राख्न सुरु गरिसकेको विभागले जनाएको छ। म्यानपावरले ल्याएका रोजगारदाता कम्पनीका डिमाण्डहरु दूतावासले प्रमाणीकरण गरी यस प्रणालीमा राखेपछि सो सूचना सम्बन्धित सबैले हेर्न सक्छन्।
मलेसियाले भोलिदेखि सुरु गर्दै
सोमबारदेखि नै मलेसियास्थित दूतावासले समेत मागपत्र प्रमाणीकरणका फाइल एफइआइएमएस प्रणालीमा राख्न सुरु गर्ने विभागले जनाएको छ।
यो प्रणाली नयाँ भएकाले यसलाई बिस्तारै विकसित गर्दै लैजाने विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।
‘यो प्रणाली लर्निङ प्रकृयामै छ। यसलाई बिस्तारै थप व्यवस्थित गरिँदै लगिनेछ‚’ विभागका महानिर्देशक भुसालले भने, ‘हामी रोजगारदाता दिनहुँ धाएर दूतावाससम्म आउनुपर्ने झन्झटिलो प्रणालीलाई पनि अन्त्य गर्ने तयारीमा छौँ। रोजगारदातालाई पनि यही एफइआइएमएस प्रणालीमा आबद्ध गराउने सम्बन्धमा छलफल गरिरहेका छौँ।’
एफइआइएमएस प्रणाली कति उपयुक्त?
रोजगारीको खोजीमा ठूलो संख्यामा मलेसिया लगायतका खाडी मुलुकमा जाने नेपाली श्रमिकहरु राम्रोसँग लेखपढ गर्नसक्ने अवस्थाका छैनन्। सामान्य नेपाली भाषा लेखपढ गर्न नसक्ने अवस्थाका श्रमिकहरुलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली काला अक्षर भैँसी बराबर जस्तै हो।
इमेल प्रयोग गर्न नसक्ने अवस्थाका श्रमिकहरुलाई इ-स्टिकर तथा इ-टोकन प्रणाली पनि त्यति प्रभावकारी हुन सकेको देखिँदैन। यो प्रणालीपछि उनीहरु आवश्यक जानकारीका लागि थप परनिर्भर बन्नुपर्ने अवस्था देखिएको छ। प्रिन्ट गरेर दिएको इ-स्टीकर हराउन सक्ने हुँदा उनीहरुलाई थप झन्झट भएको गुनासो धेरैजसो श्रमिकहरुको छ।
सुरुमा यस्ता किसिमका अप्ठ्यारा परिस्थितिहरु सिर्जना भएपनि बिस्तारै सहज हुने विभागका महानिर्देशक भुसालले जानकारी दिए।
‘यो प्रणालीको कार्यान्वयनसँगै विभिन्न झुठा डिमाण्ड देखाएर श्रमिकहरु ठगी गर्ने अवस्थाको अन्त्य हुनेछ। जुन कामका लागि वैदेशिक रोजगारीमा पठाउने भनिएको हो श्रमिकहरुले सोही काम गर्न पाउने छन्‚’ महानिर्देशक भुसालले भने।
वैदेशिक रोजगारीलाई यो प्रणालीले थप सुरक्षित व्यवस्थित तथा मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहन गुरुङले आफ्नो कार्यकालमै यो प्रणाली लागू गर्न सरकारलाई घच्घच्याएको बताए।
‘हामीले यो प्रणालीको विकासका लागि पहिलेदेखि कुरा उठाइरहेका थियौँ, फाइल बोकेर दिनहुँ कार्यालय धाइराख्नुपर्ने झन्झट थियो। यो प्रणाली पूर्ण रुपमा लागू भयो भने वैदेशिक रोजगार व्यवस्थित र मर्यादित हुन्छ‚’ पूर्व अध्यक्ष गुरुङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।