काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले छिटै नयाँ योजना ल्याउने बताएका छन्।
काठमाडौं आयोजित कार्यक्रममा मन्त्री खनालले भने, 'जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ। सरकारले पनि प्रोत्साहन गर्छ। विषादीको प्रयोग रोक्नुपर्छ।'
देशलाई आगामी तीन वर्षभित्र कृषि तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैखाले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन सकेमा उपभोग्य सामग्रीको आयात बन्द भई व्यापार घाटा न्यूनीकरण हुने विश्वास व्यक्त गरे।
खनालले आगामी पाँच वर्षभित्र देशमा प्रांगारिक उत्पादन वृद्धि गरी निर्यात गरिने योजना रहेको भन्दै सातदेखि दश वर्षसम्ममा फलफूल उत्पादनमा देशलाई आत्मनिर्भर गरिने बताए।
उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा परिणाम हासिल गर्न नसकेकाले उक्त परियोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड दिए।
कृषि प्रधान देशमा कृषि उत्पादनको वातावरण नभएका कारण युवा जनशक्ति विदेशिन बाध्य रहेको भन्दै उनले उनीहरुलाई कृषि क्षेत्रमा सहभागी गराउन सके यस क्षेत्रले फड्को मार्ने बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।