बाग्लुङ- सोमबार मात्र परीक्षण उडान गरिएको बलेवा विमानस्थलमा चैत ९ गतेदेखि व्यावसायिक उडान सुरु हुने भएको छ।
२६ वर्ष बन्द भएको विमानस्थलमा सोमबार तारा एयरलाइन्सको टुइनअटर विमानले परीक्षण उडान गरेसँगै नियमित उडान सञ्चालनमा आउन लागेको हो। काठमाडौं–बाग्लुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ। दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ।
नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ। हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।
‘परीक्षण उडान सफल भएको छ, अब नियमित उडान सुरु हुन्छ’, प्रमुख पौडेलले भने, 'धवलागिरिवासीको सपना पूरा भएको छ।'
प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उनको भनाइ छ।
सोमबार पोखराबाट बलेवासम्म गरिएको परीक्षण उडानमा प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँ, प्राधिकरण र एयरलाइन्स कम्पनीका पदाधिकारी, इञ्जिनियर र प्राविधिक सवार थिए।
प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताए। विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान सुरु गर्ने उनको भनाइ छ। १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बाग्लुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ।
यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवर्द्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताए।
बाग्लुङ–काठमाडौंको भाडादर निश्चित भइनसकेको तर ६ हजार रुपैयाँको आसपास हुनसक्ने जनाइएको छ। करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौं पुग्नेछन्।
२०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो। मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो। मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ। विमानस्थल चलाउन प्राधिकरणले विभिन्न चरणमा प्राविधिक अध्ययन गरेको थियो। विमानस्थल संरक्षण र मर्मतका लागि अघिल्ला वर्षमा पनि सरकारले बजेट दिँदै आएको थियो।
बाग्लुङ नगरपालिकाले यात्रुको सुनिश्चित गर्ने भएपछि विमानस्थल सञ्चालनले गति लिएको हो। विमानस्थल पुग्न बाग्लुङ सदरमुकामदेखि ८ किलोमिटर कच्ची सडक पार गर्नुपर्ने अवस्था छ। उक्त सडकको स्तरोन्नति र कालोपत्रेका लागि तत्काल पहल अगाडि बढाइने नगरपालिकाले जनाएको छ। २०२२ सालमा निर्माण भएको विमानस्थल बाग्लुङ–पोखरा सडकमार्ग बनेपछि बन्द भएको थियो। बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक-पटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।