काठमाडौं– तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब घोटालामा संलग्न थप ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन ३ कर्मचारीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सजल बज्राचार्य, प्रमोद भट्टराई र कृबेन्द्र श्रेष्ठ छन्। बज्राचार्य र श्रेष्ठ कर्जा सुपरीवेक्षक तथा भट्टराई कर्जा अधिकृतका रुपमा बैंकमा कार्यरत थिए। कमसल धितो राखी कर्जा प्रवाहमा उनीहरुको समेत मिलेमतो देखिएपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए। पक्राउ परेमध्ये कृबेन्द्र जनता बैंकको बनेपा शाखामा कार्यरत थिए।
यसअघि सिआइबीले १४ जनालाई पक्राउ गरिसकेको छ।
बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसेकका छन्। त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल पक्राउ परिसकेका छन्। बैंकिङ कसुर मुद्दामा उनीहरुमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको थियो।
बैंकका सञ्चालक तथा कर्मचारीहरुले मोटरबाटो नभएको, भिरालो जग्गाको अधिक मूल्यांकन गरेर कर्जा प्रवाह गरेका थिए। जुन कर्जा उठ्न नसककेपछि बैंक नै समस्यामा परेको थियो। एपेक्स बैंक एनसिसी बैंकमा मर्ज भइसकेको छ। सो अनियतिताले अहिले आफूहरुलाई असर नपर्ने एनसिसी बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।