विराटनगर– प्रदेश १ का व्यवसायीहरुले ठूला लगानी भित्र्याउन लगानी बोर्डको ध्यानाकर्षण गराएका छन्।
उद्योग वाणिज्य संघ, प्रदेश १ ले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा प्रदेशको समग्र विकासका लागि स्वदेशीका साथै विदेशी लगानीको समेत आवश्यकता रहेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका हुन्।
राजनीतिक स्थायित्वसँगै मुलकमा लगानीको वातावरण बनेकाले डराइरहनुपर्ने अवस्था नरहेको भन्दै व्यवसायीहरुले निर्धक्क भएर विकासका योजनामा लगानी गर्ने वातावरण बनाउन आग्रह गरे। प्रदेश सरकारको सय दिने कार्यक्रमले पनि अधिकांश अप्ठ्यारा हटाउँदै लैजाने र विकास निर्माण र समग्र प्रदेशवासीको समृद्धिका लागि लागि अग्रगामी कदम चाल्ने भन्दै उनीहरुले बोर्डलाई आश्वस्त पारेका थिए।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी उपस्थित रहेको कार्यक्रममा व्यवसायीहरुले प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानीका योजना भित्र्याउन सक्ने प्रशस्त सम्भावना रहेको र निजी क्षेत्र त्यसमा सहयोग र समन्वय गर्न तयार रहेको बताए।
यस लगत्तै बोर्डका अधिकारीहरुले मुख्यमन्त्री शेरधन राईसँग पनि भेटवार्ता गरेका थिए। छलफलमा मुख्यमन्त्री राईले स्वदेशी र विदेशी लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे।
प्रदेश सरकारले लगानीमैत्री कानुन र वातावरण बनाउने स्पष्ट पार्दै मुख्यमन्त्री राईले केन्द्रमा स्थिर र बलियो सरकार गठन भएकाले विदेशी लगानी भित्रनेमा आफू विश्वस्त रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।