काठमाडौं- रोजगारीको खोजीमा मलेसिया पुगेका १ सय ९८ नेपाली श्रमिकहरु मलेसियाका विभिन्न जेलमा रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ। घरफिर्ती केन्द्रमा १ सय १० नेपाली छन्। फिर्ती केन्द्रमा भएका १ सय १० युवा विभिन्न किसिमका आपराधिक क्रियाकलापमा संलग्न रही जेल सजायँ अवधि पुरा गरेका, तथा कम्पनीबाट भागेर अवैध बनि जेल परेका, करार अवधि सकिएपछि पनि लामो समयसम्म मलेसियामा रहँदै आएका भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।
मलेसियाले ‘गुड फर ब्याक’ आममाफी कार्यक्रममार्फत अवैध रुपमा रहँदै आएका नेपालीलाई घर फर्किने अवसर प्रदान गरेको छ। ‘यही डिसेम्बरसम्म अवैध रुपमा मलेसियामा रहँदै आएका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु स्वदेश फर्कन सक्नु हुन्छ,’ महानिर्देशक भुसालले भने।
‘गुड फर ब्याक’ कार्यक्रममार्फत् ४ महिना अवधिमा मलेसियाका विभिन्न जेलमा तथा अवैध रुपमा रहँदै आएका २ हजार ८ सय श्रमिक स्वदेश फर्किएको दूतावासले जनाएको छ। यो कार्यक्रममार्फत् गत अगष्ट १ तारिखदेखि नोभेम्बर ३० सम्म ८९ महिला र २ हजार ७ सय २१ पुरुष गरी जम्मा २ हजार ८ सय १० श्रमिक दूतावासबाट ट्राभल डकुमेन्ट बनाइ फर्किएका छन्। यो कार्यक्रममार्फत डिसेम्बर ३१ सम्म अवैध श्रमिक स्वदेश फर्कन पाउने छन्।
मलेसिया सरकारले ब्याक फर गुड कार्यक्रम सकिएपछि अवैध रुपमा बसिरहेका विदेशी नागरिकका सम्बन्धमा कडाइ गर्ने तयारी गरेको छ। २०२० जनवरी १ देखि नै अवैध विदेशी नागरिकका सम्बन्धमा जरिवाना तथा जेल सजायँसमेत बढाउने भएको छ। जसका कारण पनि अवैध रुपमा मलेसियामा रहेका नेपालीलाई तोकिएको समयभित्र स्वदेश फर्काउनका लागि दूतावासले विभिन्न पहल गरिरहेको छ। नेपाली श्रमिकहरुको बढी चहलपहल हुने सहरहरुमा नै गएर दूतावासले ट्राभल डकुमेन्टलगायत प्रकृयाका लागि काम गरिहरहेको छ।
मलेसियामा अवैध रुपमा रहेका सबै नेपालीहरु आममाफीको समयभित्र फर्किसक्ने विश्वास दूतावासले लिएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल यही डिसेम्बरमा मलेसियास्थित केही जेलमा भ्रमणका लागि पुगेका थिए। त्यहाँ थुप्रै नेपाली श्रमिकहरुको जेलमा दयनीय अबस्था रहेको उनले बताए।
परिवारको सम्पर्कमा आए लामो समयदेखि जेलजीवन भोगिरहेका बेखबर नेपाली
मलेसियास्थित विभिन्न जेलको भ्रमणका क्रममा महानिर्देशक भुसालले मलेसियाको लेङगेङ इमिग्रेसन सेन्टरमा एक अनौठा व्यक्ति भेटे । ‘अचम्मका सोमकुमार तामाङ’ भनेर सामाजिक सञ्जाल फेसबुकमार्फत महानिर्देशक भुसालले नेपाली भाषा बोल्न र बुझ्न नसक्ने ती युवकले उदयपुर घर बताएको उल्लेख गरेका थिए। आमाबुबाको नाम पनि बताउन नसक्ने ती युवाले आफूलाई भिनाजुले १७ वर्ष अगाडि १४ वर्षको उमेरमा ल्याएर मलेसियामा छाडेको बताएका थिए।
नेपाली भाषा पनि बुझ्न नसक्ने, बोल्न पनि नसक्ने, आफ्नै आमाबुबा र गाउँको नाम पनि बताउन नसक्ने सोमकुमार नेपाली हो भनेर कसैले विश्वास गरिरहेको थिएन । ‘ती युवा अरुभन्दा फरक देखेँ, कति निरिह लाग्यो। उनीका बारेमा दूतावासका साथीहरुले केही कुरा सुनाएपछि थप कुरा गर्न मन लाग्यो। नेपाली भाषा पनि नबुझ्ने रहेछन्। दोभासे खोजेर कुरा गरियो। सामाजिक सञ्चालमा राखिदिँए। उनका भाइ विभागमा आए नागरिकता सबै हेर्दा सोमकुमार उदयपुरकै रहेछन्,’ महानिर्देशक भुसालले नेपाल लाईभसँग भने।
१७ वर्षअगाडि आफ्नै भिनाजुले मलेसिया ल्याएको उनले स्थानीय भाषामा बताएका थिए।
नेपालीहरु कसरी पर्छन् मलेसियाको जेलमा?
रोजगारीको खोजीमा मलेसियामा सबैभन्दा बढी संख्यामा नेपालीहरु पुग्छन् । करार अवधिभन्दा लामो समयसम्म बस्ने कतिपय नेपालीहरु जेलजीवन बिताउन बाध्य छन्। एउटा कम्पनीका लागि श्रम स्वीकृति लिएर गएका नेपालीहरु सो कम्पनीबाट भागेर अन्यत्र जाँदा पनि अवैध बन्ने गरेका छन्। कुटपीट, होहल्ला, नियमको उल्लङ्घन, झै–झगडालगायत विभिन्न कारणबाट समेत उनीहरु जेलजीवन बिताउन बाध्य छन् । चोरी, डकैती, हत्या जस्ता गम्भीर आरोपमा वर्षौँदेखि नेपाली श्रमिकहरु जेलजीवन बिताउन बाध्य छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।