काठमाडौं- नेपाल ट्रष्टको जग्गामा व्यवसायीहरूको रजाइँ चल्दै आएको खुलासा हुन थालेको छ। टेकुस्थित बिजनेस पार्कको २० रोपनी जग्गा पनि कौडीको भाउमा दिएको रहस्य खुलेको छ। उक्त जग्गाको मासिक भाडा ३ लाख ३३ हजारमात्र छ।
काठमाडौं महानगरिपालिकका १२ को कित्ता नम्बर ६ र १७ को जग्गा लिजमा दिनेसम्बन्धी सम्झौता पछिल्लोपटक २०६६ माघ ५ मा भएको थियो। उक्त जग्गा तत्कालीन दरबारले २०५३ चैत २८ गते ३० वर्षका लागि टाउन डेभलपर्ससँग सम्झौता गरेको दिएको थियो। अहिले त्यो जग्गामा विजनेश पार्क भवन निर्माण भइ सञ्चालन भइरहेको छ। २०५३ को सम्झौतामा उक्त जग्गा २०८३ चैत २७ गतेसम्मका लिजमा दिने सम्झौता भएको थियो।
पहिलो सम्झौतामा कति भाडा भन्ने उल्लेख नभए पनि पुनः सम्झौतापछि भने जग्गा भाडा तोकिएको छ। पुनः सम्झौता हुँदा ३ तहमा भाडा तोकिएको छ। पुनः सम्झौता २०६६ माघमा भए पनि भाडा भने २०६९ देखिमात्रै लागू हुने गरी तोकिएको छ। त्यसअनुसार २०६९ देखि २०७३ सम्मको पाँच वर्षको वार्षिक भाडा ३० लाख तोकिएको थियो।


सम्झौतापछि उक्त कम्पनीले नेपाल ट्रष्ट कार्यालयलाई ५ वर्षको भाडावापत १ करोड ५० लाख रुपैयाँमात्रै बुझाएको थियो। त्यसपछि २०७४ देखि २०७८ सम्मको भाडा भने वार्षिक ४० लाख रुपैयाँ तोकिएको छ। यसको अर्थ अहिले टाउन डेभलपर्सले ट्रष्ट कार्यालयलाई मासिक ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँमात्रै तिर्दै आएको छ। तर, टाउन डेभलपर्सले सञ्चालन गरिरहेको विजनेस पार्क भवनबाट भने मासिक ७० देखि ८० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ। पुनः लिज सम्झौताकै आधारमा अब जग्गा भाडामा लिने कम्पनीले २०७९ देखि २०८२ सम्मको ४ वर्षमा भने वार्षिक भाडा ५० लाख रुपैयाँमात्रै बुझाउने छ। उक्त जग्गाको लिज सम्झौताका बेला नेकपा नेता माधवकुमार नेपाल नेतृत्वको सरकार थियो। नेपालको मन्त्रिपरिषदमा पूर्व एमाले र कांग्रेसका नेता थिए। त्यो सरकारले नै उक्त जग्गाको भाडा पुनरावलोनकन गरेको थियो। त्यहीबेला सेटिङका आधारमा थप १४ वर्षका लागि भाडा तय भएको थियो।
नेपाल ट्रष्टको जग्गामा रजाइँ गर्ने व्यवसायीको सूची लामो छ।
गोकर्ण फरेष्टमा रहेको २ हजार ९ सय ७१ रोपनी र दरबारमार्गको १ रोपनी १४ आना जग्गामा स्वर्गीय व्यवसायी आङछिरिङ शेर्पाको कम्पनीले रजाइँ गरिरहेको छ । गोकर्ण फरेष्टमा शेर्पाको लगानी रहेको यती होल्डिङस र दरबारमार्गको जग्गामा थामसेर्कु डेभलपर प्रालिले कौडीको भाउमा जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका छन्। गोकर्ण फरेष्टमा गोकर्ण रिर्सोट सञ्चालन छ भने दरबार मार्गमा व्यावसायिक भवन निर्माण भइरहेको छ। योसँगै काठमाडौंको कमलादीमा रहेको ५ रोपनी जग्गामा व्यावसायिक भवन बनाउँदै कन्सेप्ट डेभलपर्सले रजाइँ गरिरहेको छ।
तत्कालीन राजपरिवारले आफूखुी जग्गा भाडामा दिएको भन्दै टार्न खोजे पनि न्युन रकममा पुन लिज सम्झौता गर्ने काम भने २०६२÷०६३ पछि बनेका लोकतान्त्रिक सरकारले नै गरेका छन्। गोकर्ण फरेष्टको लिज सम्झौता २०६७ वैशाखमा भएको थियो भने अहिले काठमाडौं प्लाजा भवन रहेको जग्गाको लिज सम्झौता पनि २०६६ सालमै नवीकरण भएका थिए। तर, जग्गा भाडा भने पुरानै शैलीमा दिइएको छ। गोकर्ण फरेष्टको त समय सकिनु ६ वर्षअगावै विना प्रतिस्पर्धा २५ वर्ष समय थप गर्ने निर्णय सरकारबाट भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।