काठमाडौं- राजस्व चुहावट नियन्त्रणमा सरकारले अनुगमन अघि बढाउने भएको छ। राजस्व अनुसन्धान विभागको नेतृत्वमा बजार अनुगमन अघि बढाउने निर्णय सरोकारवाला निकायले गरेका छन्।
बिहीबार राजस्व अनुसन्धान विभागमा भएको छलफलमा भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच बजार अनुगमन अघि बढाउने निर्णय भएको हो। 'उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार बजार अनुगमन अघि बढाउने निर्णय भएको हो,' छलफलमा सहभागी भएका भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले भने।
केही दिनअघि अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकले आन्तरिक राजस्व र भन्सार दुवैतर्फको चुहावट नियन्त्रण गर्न बजार अनुगमन अघि बढाउने निर्णय भएको थियो। त्यसैअनुसार राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको अध्यक्षतामा बिहीबार अनुगमन समितिको बैठक बसेको हो।
आन्तरिक राजस्व र भन्सार दुवैतर्फ चुहावटको समस्या रहेको निश्कर्ष निकाल्दै समितिले अनुगमन अघि बढाउने निर्णय गरेको छलफलमा सहभागी भएका अर्का एक अधिकारीले जानकारी दिए। 'पछिल्लो समयमा भन्सार तथा आन्तरिक राजस्व दुवैतर्फको राजस्व चुहावट भएको सूचना आइरहेका छन्, राजस्व अनुसन्धान विभागले अनुसन्धान पनि गरिरहेको छ तर सबै निकायले अनुगमन गर्नुपर्ने देखियो,' ती अधिकारीले भने।
सरकारले आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर छलीका घटनामा केही वृद्धि भएको हुन सक्ने अनुमान गरेको छ। मूल्य अभिवृद्धि करतर्फ यथार्थ बिलिङ नहुने र कारोबार लुकाउने प्रवृत्ति रहेको भन्दै त्यसलाई नियन्त्रणका लागि अनुगमन अघि बढाउन लागिएको हो। मूल्य अभिवृद्धि कर छली हुँदा त्यसले आयकर समेत प्रभावित बनेको सरकारी ठहर छ।
चालु आर्थिक वर्षमा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन। आर्थिक वर्षको पहिलो पाँच महिनामा ४ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ८८ अर्ब रुपैयाँ कम संकलन भएको छ। यही दबाबमा रहेको सरकारले बजार अनुगमन तीव्र पारी राजस्व चुहावट नियन्त्रण गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।