काठमाडौं- चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चैमासिक अवधिमा बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको माग गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा २ दशमलव ८ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरण प्रकाशित गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो। राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना अवधिमा कुल आन्तरिक कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५ दशमलव १ प्रतिशतले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा यस्तो कर्जा १८ दशमलव १ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८ दशमलव ५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव ६ प्रतिशतले बढेको छ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलव ५ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ दशमलव ६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७५ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशमलव २ प्रतिशत र १४ दशमलव ७ प्रतिशत रहेको थियो।
पहिलो चौमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ दशमलव ९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६ दशमलव ४ प्रतिशत र निर्माण क्षेत्रतर्फको कर्जा ५ दशमलव ४ प्रतिशतले बढेको छ। त्यस्तै, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा समान ५ दशमलव ९ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७ दशमलव १ प्रतिशतले बढेको छ।
यही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ८ दशमलव ६ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ६ दशमलव ८ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५ दशमलव ३ प्रतिशत, हायर पर्चेज कर्जा १ दशमलव १ प्रतिशत र ओभरड्राफ्ट कर्जा शून्य ९ प्रतिशतले बढेको छ। तर मार्जिन प्रकृतिको कर्जा भने १ दशमलव ५ प्रतिशतले घटेको छ।
निक्षेप वृद्धिदरमा पनि कमी
पहिलो चौमासिक अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ दशमलव १ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ दशमलव ६ प्रतिशतले बढेको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा निक्षेपको वृद्धिदर शून्य दशमलव ५ प्रतिशतले घटेको छ।
वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ दशमलव ४ प्रतिशतले बढेको छ। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३२ दशलमव ५ प्रतिशत र ४८ दशमलव ७ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३४ दशमलव ७ प्रतिशत र ४६ दशमलव २ प्रतिशत रहेको थियो।
गत कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव ७ प्रतिशत रहेको छ। २०७५ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ३ प्रतिशत रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।