काठमाडौं- नेपाल बैंक लिमिटेडले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख २४ हजार रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएको छ।
नेपाल बैंक लिमिटेडको मंसिर २९ गते बसेको सञ्चालक समितिको २७औं बैठकले बैंकको ६०औं वार्षिक साधारण सभा पुस २५ गते बस्ने तय गरेको छ। बैंकको अधिकृत पूँजी १० अर्बबाट बढाएर १५ अर्ब कायम गर्ने र सोही अनुसार बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिने छ।
हालको चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबर बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस सेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजी वृद्धि गरी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय कायम गर्ने नेपाल बैंक लिमिटेडले जनाएको छ।
सञ्चालकको बैठकभत्ता लगायत सुविधामा वृद्धि गर्न नियमावली संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।