काठमाडौं- राजस्व चुहावटको अभियोगमा राजस्व अनुसन्धान विभागले केही व्यक्ति विरुद्ध मुद्दा दायर गरेको छ। विभागले १ करोड ५३ लाख १५ हजार रुपैयाँ माग दावीसहित मुद्दा दायर गरेको हो।
विभागले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १ का रमेशकुमार सैजु समेतले चोरी पैठारी गरी ल्याएको २३४९.७ ग्राम सुनको हुन आउने मूल्य १ करोड २३ लाख रुपैयाँ तथा १०९९२.७७ ग्राम चाँदीको हुन आउने ३ लाख ९४ हजार ७८४ रुपैयाँसमेत जम्मा १ करोड २७ लाख २३ हजार रुपैयाँ बिगो कायम गरी कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको टोलीले विषेश सूचनाको आधारमा कैलाली लम्की चुहा नगरपालीका ३ चिसापानीस्थित सडकमा बा १९ च ७४१३ नम्वरको गाडी चेकजाँच गर्दा बिना बिल बिजक लुकाई छिपाइ ल्याउँदै गरेको सुन तथा चाँदी बरामद गरेको विभागले जनाएको छ।
यसैगरी कैलाली जिल्ला लम्कीचुहा नगरपालिका १ बस्ने देउती गुट्खा इन्डस्ट्रिजका प्रोप्राइटर यज्ञबहादुर ओलीसमेतलाई राजस्व चुहावट गरेको अभियोगमा २५ लाख ९२ हजार बिगो कायम गरी बर्दिया जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।