काठमाडौं- सरकारले लागु गरेको सामाजिक सुरक्षा योजनामा सहभागी नहुने बताउँदै आएको नेपाल बैंकर्स संघले आफू र मातहतका संस्था योजनामा सहभागी नहुनुका सात कारण प्रस्ट्याएको छ।
संघले आफुले दिएका सुझावलाई सम्बोधन गरे नेपाल राष्ट्र बैंकले पछिल्लो समय सामाजिक सुरक्षा योजनामा जानका लागि दिएको निर्देशन पनि पालना गर्ने जनाएको हो। बैंकर्स संघले मुख्य गरी दोहोरो कर, उमेर हद र बीमासम्बन्धी सामाजिक सुरक्षा योजनाको नीतिमाथि आफ्नो असन्तुष्टि देखाएको छ।
यस अघि बैंक तथा वित्तीय संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जान नेपाल राष्ट्र बैंकले दिएको निर्देशनप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघले पनि आपत्ति जनाउँदै ६ बुँदे माग पुरा गर्नुपर्ने जनाएको थियो।
यी हुन बैकर्स संघले राखेका ७ समस्याः
१. योगदान नगर्नेले प्रतिफलको आशा पनि नगर्ने हुनाले श्रम ऐनले तोकेबमोजिम संचय कोषको रकम र उपदानबापतको रकम नपाएका श्रमिकको हकमा मात्र अनिवार्य गरी अन्य श्रमिकका लागि स्वेच्छिक गर्नुपर्ने। साथै नयाँ आउने कर्मचारीहरुले स्वतः स्वीकार गर्ने भएकाले पुराना कर्मचारीको हकमा स्वेच्छिक गरिदिएमा यो कार्यक्रम सफल हुने।
२. योगदानकर्ताले हाल आफ्नो आयमा ३६ प्रतिशतसम्म कर तिर्ने र अवकास रकम लिँदा सोही रकममा पुनः १५ प्रतिशत कर तिर्नुपर्ने विद्यमान व्यवस्थाले गर्दा कर्मचारीले ५१ प्रतिशतसम्म कर तिर्नुपर्ने बाध्यता रहेका कारण यो दोहोरो करको व्यवस्था हटाउनुपर्ने।
३. संचय कोषमा योगदान गरेको रकमकै मौज्दातको सुरक्षणमा आवश्यकता परेको बखत कर्जा सापटी लिन सक्ने सुविधा पाइराखेको खण्डमा सामाजिक सुरक्षा योजनाअन्तर्गत यस सुविधाबाट योगदानकर्ताहरु वञ्चित हुन सक्ने। जसकारण, कर्मचारीले पाइरहेका सुविधाबाट उनीहरुलाई वञ्चित गर्नु उपयुक्त नहुने।
४. कार्यविधिमा उमेरहद ६० वर्ष तोकिएको तर श्रम ऐन २०७५ अनुसार कर्मचारीहरुको हद ५८ वर्ष तोकिएको छ। यसरी ऐन र कार्यविधिमा भएको व्यवस्था नै फरक भएकाले त्यसमा एकरुपता ल्याइनुपर्ने र उमेरको हद ६० वर्ष कायम गर्नु उपयुक्त हुने।
५. योगदानमा आधारित सामाजिक सुरक्षा कोष भनियतापनि औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्त सुरक्षा योजनासमेत योगदानको आधारमा नभएको तथा जति नै योगदान गरेपनि निश्चित रकम सिमा तोकिएकाले सो समेत योगदानमा आधारित गरिनुपर्ने।
६. बैंकिङ क्षेत्रमा कर्मचारीलगायत उनीहरुका परिवारको समेत बीमा गर्ने गरेकोमा सामाजिक सुरक्षा योजना कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषले कर्मचारीको मात्र बीमा गर्ने देखिएकाले बैंकका कर्मचारीहरुको दोहोरो बीमा प्रिमियम तिरे पनि बीमा दाबी गर्दा एक ठाउँबाट प्राप्त हुने हुनाले यसमा समेत कर्मचारी र बैंकलाई दोहोरो भार पर्ने।
७. सामाजिक सुरक्षा योजना संचालन कार्यविधिको दफा २४ ‘ग’ मा योगदानकर्ताले निवृत्तिभरण प्राप्त गरेपछि १ सय ८० महिनाभित्रै निवृत्तिभरण नपाउँदै निजको मृत्यु भएमा निजको पति वा पत्नीको वैकल्पिक रोजगारी नभएको अवस्थामा मृतकको पति वा पत्नीलाई पचास प्रतिशतले हुन आउने रकम प्रदान गरिनेछ भनी उल्लेख गरिएको छ। कर्मचारीले योगदान गरेको रकम अवकाश पछिको १ सय ८० महिनाअघि नै उसको मृत्यु भएको खण्डमा आफ्नो पति वा पत्नीले सो रकम पाउने सुनिश्चित हुनुपर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।