काठमाडौं- चालु आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म)मा उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मुद्रास्फीति रहेको थियो।
यो अवधिमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेकोमा भारतमा यस्तो (नोभेम्बर महिनाको) मुद्रास्फीति ५.५४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.१५ प्रतिशत र २.३३ प्रतिशत रहेको थियो।
२०७६ कात्तिकमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ।
वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५.२० प्रतिशत, १.२१ प्रतिशत र २.२१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.१९ प्रतिशतले घटेको छ।
आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु निर्यात २३.९ प्रतिशतले वृद्धि भई रु.३६ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ४५.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६ प्रतिशत र अन्य मुलुकतर्फ ४.७ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०७६/७७ को चार महिनामा कुल वस्तु आयात ६.९ प्रतिशतले घटेर ४ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३५.८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १०.९ प्रतिशत र ८.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १२.८ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, विद्युतीय उपकरण, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाज तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ।
आर्थिक वर्ष २०७६/७७ को चार महिनासम्ममा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई ४ खर्ब १४ अर्ब २ करोड रहेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.१ प्रतिशत रहेको थियो।
कात्तिकमा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क १ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ४.६ प्रतिशतले घटेको छ। २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत आधारमा ४ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ कात्तिक महिनामा ५.९ प्रतिशतले बढेको छ।
यो अवधिमा खुद सेवा आय २ अर्ब ७१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १३ अर्ब १६ करोडले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ११.३ प्रतिशतले वृद्धि भई २७ अर्ब ८९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५ अर्ब ६ करोड रहेको थियो।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २६.१ प्रतिशतले कमी आई २५ अर्ब ८० करोड कायम भएको छ। यसमध्ये शिक्षातर्फको खर्च १२ अर्ब १७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३४ अर्ब ९१ करोड र सोमध्ये शिक्षातर्फको खर्च १९ अर्ब ३१ करोड रहेको थियो।
यो अवधिमा विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटी ३ खर्ब ४ अर्ब ९७ करोड कायम रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २३.१ प्रतिशतले बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।