काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनाको समष्टिगत आर्थिक स्थितिसहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकले यो अवधिमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.७६ प्रतिशत रहेको जनाएको छ। चार महिनाको औसत मुद्रास्फीति ६.२७ प्रतिशत छ ।
यसैगरी आयात ६.९ प्रतिशतले घटेको छ भने निर्यात २३.९ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह २.३ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा छ ।
कुल विदेशी विनिमय सञ्चिति ११०३ अर्ब १२ करोड कायम भएको छ। उक्त सञ्चिति ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च २१९ अर्ब १७ करोड र राजस्व परिचालन २७५ अर्ब २ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ। विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १५.४ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.१ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ५ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.४ प्रतिशत र कर्जाको वृद्धिदर १५.६ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।