काठमाडौं- देशको सञ्चालनमा रहेको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’को रन-वे रिह्याबिलिटेसन (पिच) परिर्वतनको काम तोकिएको समयभन्दा ५ महिनाअगाडि नै सम्पन्न भएको छ।
सन् २०१८ को नोभेम्बरमा रन-वे, ट्याक्सी वे र एप्रोनको पिच परिर्वतनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो। चिनियाँ कम्पनी चाइना नेश्नल एरो टेक्नोलोजी इन्टरनेश्नल इन्जिनियरिङको अपरेशनले काम सम्पन्न गनुपर्ने समयावधिभन्दा ५ महिनाअगाडि नै काम सकी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।
मूल्य अभिवृद्धि करसहित कुल ४ अर्ब २७ अर्ब रुपैयाँमा यो कामका लागि प्राधिकरणले १८ महिनाको समय सिमा राखेर सम्झौता गरेको थियो।
तर, निर्माण कम्पनीले रन-वे सेन्टर पोइन्टका लाइट जडानबाहेक सिभिलतर्फको सबै काम सकेर मंगलबार एक कार्यक्रम गर्दै हस्तान्तरण गरेको हो।
.jpg)
३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाई रहेको रन-वेको पिच परिर्वतनको काम भने २०७५ सालको चैत १८ गतेबाट अर्थात् सन् २०१९ को अप्रिल १ बाट काम सुरु गरिएको थियो। उक्त समयमा विमानस्थल कार्यालयले बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म नोटा जारी गर्दै ठेकेदारलाई काम गर्ने समय उपलब्ध गराएको थियो।
यसरी सुरु भएको काममा ठेकेदारले जुन ३० सम्म रन-वेको पिच परिर्वतनको काम सकेको थियो। दोस्रो चरणमा भने ठेकदारले सेप्टेम्बर १ देखि काम थाल्दै डिसेम्बर १६ सम्ममा सबै काम सकेको हो। ठेकेदारले काम सकेर हस्तान्तरण गरेसँगै मंगलबारबाट २१ घण्टा विमानस्थल सञ्चालन योग्य भएको छ।
सन् १९७५ मा ३ हजार मिटरको रन-वे बनाएपछिको यो पिच परिर्वतन पहिलो पटक हो। तर, सन् २००९ देखि २०११ सम्म भने रन-वेको ओभरले गरिएको थियो। त्यसपछि सन् २०१३ देखि भने रन-वे को पिच उप्कन थालको थियो।
.jpg)
रन-वेको पिच उप्कन थालेसँगै र भूकम्पपछि भने रन-वेले विमानस्थल सञ्चालनमा ठूलो समस्या खडा गरेको थियो। ठूला जहाज ल्यान्ड हुनासाथ रन-वे टालटुलका लागि तयारी अवस्थामा बस्नुपर्ने अवस्था थियो। समस्या बढ्दै गएपछि सन् २०१६ मा कोरियन परामर्शदाता छनोट गरेर रन-वे पिच परिर्वतनको काम सुरु भएको थियो।
रन-वेको पिच परिर्वतनको काम सकिएसँगै विमानस्थल २४ घन्टा नै सञ्चालन योग्य भएको प्राधिकरण महानिर्देशकले बताए। ‘समय अगावै काम सकेर चिनियाँ कम्पनीले हाम्रो भिजिट नेपाल २०२० को लागि सहयोग गरेको छ,’ पोखरेलले भने, ‘एउटामात्रै अन्तर्राष्ट्रिय विमानस्थल भएको देश र त्यसमा पनि एउटा मात्रै रन-वे भएको ठाउँमा यसरी काम सक्नु ठूलो विषय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।