काठमाडौं- कांग्रेस नेतृ एवं छायाँ सरकारकी श्रम मन्त्री डा. डिला संग्रौलाले नेकपा नेतृत्वको सरकारले सर्वहारा श्रमजीवीहरुको हक हितमा काम गर्न नसकेको औंल्याएकी छिन्।
मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी उनले श्रम क्षेत्रमा सरकारको कमजोरी औंल्याएकी हुन्।
‘तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउने नाममा मलेसिया, युएई, मरिससलगायत मुलुकसँग शून्य लागतको श्रम समझदारी गर्नु भयो तर त्यसअनुसार श्रमिकहरु रोजगारीमा जान पाएका छैनन्’ संग्रौलाले भनिन्, ‘श्रमिकसँग शूल्क नलिने भन्दै कानुनी छिद्र प्रयोग गर्दै बिचौलियाले लाखौँ रकम असुलिरहेका छन्। सरकारले मौन स्वीकृति जनाइरहेको छ ।’
वैदेशिक रोजगार विभागको सेवामा आमूल परिवर्तन आएर सेवालाई अनलाईन प्रकृयामा लगिरहेको अवस्थामा मन्त्री परिवर्तन भएसँगै व्यवसायीले विभाग तथा मन्त्रालयमा दबाब दिन सुरु गरेकाले त्यतातिर ध्यान दिनु पर्ने उनले बताइन् ।
विभागले आफ्नो कार्यक्षमता बढाए पनि नवनियुक्त मन्त्रीले वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली (ईपिएस) कार्यालय, तथा वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचललगायत अति महत्वपूर्ण कार्यालयका सवारी साधन आफ्ना कार्यकर्तालाई दिन सुरु गरेको भन्दै उनले त्यतातर्फ सरकारले ध्यान पुर्याउनुपर्ने टिप्पणी गरिन्।
‘नेकपाको सरकारले तामझामका साथ सुरु गरेको सामाजिक सुरक्षा योजनाले श्रमिकको हकहितमा नयाँ युगको सुरुवात हुन सकेन, स्वदेशमै रोजगारी सिर्जना गर्न ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत राज्यकोषको रकम चरम दुरुपयोग भयो उपलब्धी हुन सकेन’ डा संग्रौलाले भनिन् ।
नेकपा सरकारले दुई तिहाईको दम्भ देखाउँदै भड्किलो प्रचार गरेको तर कार्यान्वयन पक्ष फितलो भएको डा संग्रौलाको भनाइ छ।
सरकारले आम श्रमिकको हकहितलाई ध्यानमा राखेर वैदेशिक रोजगारीमा जाने श्रमिक तथा आन्तरिक श्रमिकका हक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन् ।
आफूले सरकारका रचनात्मक कार्यको समर्थन तथा गलत कामको भण्डाफोर गर्ने डा संग्रौलाले प्रतिबद्धता जनाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।