काठमाडौं- नेपाल आयल निगमले ५ वर्षमा डिजेल तथा पेट्रोलबाट सडक मर्मत शुल्कवापत २० अर्ब ६४ करोड ४३ लाख २ हजार रुपैयाँ उठाएको छ। निगमले उक्त रकम भन्सारमै संकलन गरेर नेपाल सरकारलाई उपलब्ध गराउँछ। सरकारले डिजेलमा प्रतिलिटर २ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ सडक मर्मत शुल्क उठाउँदै आएको छ।
सडक पूर्वाधारको विकासका लागि सरकार भन्सार विन्दुमै इन्धनमा सडक मर्मत शुल्क संकलन गर्दै आएको छ। सडकको अवस्था चुस्तदुरुस्त बनाउन सरकारले इन्धनमा सडक मर्मत शुल्क लिन थालेको हो।
निगमले आर्थिक वर्ष २०७५/७६ मा डिजेलबाट ३ अर्ब ४२ करोड ५० लाख ३४ हजार रुपैयाँ र पेट्रोलबाट २ अर्ब २६ करोड ७४ लाख ६४ लाख रुपैयाँ सडक मर्मत शुल्क उठाएको छ।
त्यस्तैगरी आव २०७४/७५ मा पेट्रोलबाट १ अर्ब ९५ करोड २६ लाख ७२ हजार रुपैयाँ संकल हुँदा डिजेलबाट ३ अर्ब १७ करोड, ३० लाख १२ हजार रुपैयाँ सडक मर्मत शुल्क उठाएर निगमले सरकारलाई उपलब्ध गराएको थियो।
आव २०७३/७४ मा डिजेलबाट २ अर्ब ६५ करोड, ७७ लाख ६२ हजार रुपैयाँ मर्मत शुल्क उठेकोमा पेट्रोलबाट १ अर्ब ६३ करोड ६१ लाख १२ हजार रुपैयाँ संकलन भएको नेपाल आयल निगमले जनाएको छ।
आव २०७२/७३ मा भने भारतले गरेको नाकाबन्दीका कारण इन्धनको आयात कम भएकाले सडक मर्मत शुल्क समेत कम संकलन भएको थियो। सो वर्ष डिजेलबाट १ अर्ब ५७ करोड, ९८ लाख ४४ हजार रुपैयाँ र पेट्रोलबाट ९५ करोड ५० लाख २० हजार रुपैयाँमात्र संकलन भएको थियो।
हरेक वर्ष इन्धनको आयात बढ्दै गएकाले इन्धनबाट संकलन हुने सडक मर्मत शुल्क समेत वृद्धि हुँदै आएको छ। आव २०७१/७२ मा पेट्रोलबाट सडक मर्मत शुल्क १ अर्ब १५ करोड १८ लाख ४४ हजार रुपैयाँ संकलन भएको थियो भने डिजेलबाट १ अर्ब ८४ करोड ५५ लाख ३८ हजार रुपैयाँ निगमले संकलन गरेको थियो।
सरकारले डिजलेमा पेट्रोलमा भन्दा २ रुपैयाँ बढी मर्मत शुल्क लगाउँदै आएको छ। नेपालमा पेट्रोल भन्दा धेरै डिजेल आयात हुने गरेको छ। डिजेलको खपत सार्वजनिक यातायातदेखि निर्माण कार्यमा समेत प्रयोग हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।