काठमाडौं- अर्घाखाँची सिमेन्टले ५ वर्षमा ७ अर्ब रुपैयाँ लगानी गरी उद्योगको क्षमता करिब ४ गुणाले बढाएको छ। ५ वर्षअघि दैनिक ७ सय मेट्रिक टन उत्पादन क्षमताबाट सुरु भएको उद्योगले अहिले ३ हजार मेट्रिक टन उत्पादन क्षमता पुर्याएको कम्पनीका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए।
'अर्घाखाँची सिमेन्ट उद्योग सुरु हुँदाभन्दा अहिले हाम्रो क्षमता ४ गुणाले बढेको छ, अहिले नेपालको दोस्रो ठूलो सिमेन्ट उद्योगमा काम गरिरहेका छौँ,' उनले भने। उद्योगले सर्वसाधारणलाई सेयर दिने तयारी गरे पनि बजारको अवस्थाले पर्ख र हेरको अवस्थामा पुर्याएको उनले उल्लेख गरे।
माग नबढ्नु चिन्ताजनक
नेपाल अहिले सिमेन्टमा आत्मनिर्भर छ। तर उद्योगीहरुले भने उत्पादनअनुसार माग नबढ्नु चिन्ताको विषय भएको बताएका छन्। अर्घाखाँचीका प्रबन्ध सञ्चालक राजेशकुमार अग्रवालले भने, 'क्लिंकर र सिमेन्टको खपत घटिरहेको छ तर उत्पादन बढिरहेको छ,' उनले भने, 'अबको हाम्रो मुख्य चिन्ता भनेको माग कसरी बढाउने भन्ने हो।'
पूर्वाधार विकासमा सुस्तता आउँदा अपेक्षाअनुसारको सिमेन्ट खपत हुन नसकेको उनीहरुले बताएका छन्। 'अबको एउटा विकल्प भनेको कंक्रिट रोड निर्माण गर्ने हो, यसले सिमेन्टको खपत बढाउँछ भने बिटुमिन आयातका लागि पैसा बाहिर जानबाट पनि रोक्छ,' उनले भने। कंक्रिट सडक बिटुमिन प्रयोग गरेर कालोपत्रे गरिएका सडकभन्दा गुणस्तरीय र टिकाउ हुने उनको भनाइ छ।
मुरारकाले निर्यातजन्य उद्योग भए पनि निर्यातका लागि भनेजस्तो सहज नभएको बताए। सरकारले उद्योगमाथि १७ रुपैयाँ प्रतियुनिटमा विद्युत बिक्री गरिरहेको भन्दै भारतमा निर्यात गर्दा पाउने शुल्क बराबरमै उद्योगलाई विद्युत दिन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।