काठमाडौं- चालु आर्थिक वर्षको पहिलो पाँच महिना बित्दा सरकारले निर्धारण गरेको राजस्वको लक्ष्य र संकलनको अन्तर ८५ अर्ब रुपैयाँ नाघेको छ।
मंसिर मसान्तसम्ममा सरकारले ४ खर्ब ५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ३ खर्ब १८ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार गत महिनाको तुलनामा भन्सार राजस्व संकलनमा केही सुधार देखिएको भए पनि लक्ष्यभन्दा निकै कम संकलन भएको छ। मूल्य अभिवृद्धि करतर्फ गत वर्षको तुलनामा २८ प्रतिशतको वृद्धिदर भए पनि लक्ष्य भेटेको छैन।
मंसिरसम्ममा संकलन भएको राजस्व गत आर्थिक वर्षको यही अवधिसम्ममा भएको संकलनभन्दा ६ प्रतिशतले मात्रै धेरै हो। 'मंसिरमा ७१ अर्ब रुपैयाँ लक्ष्य तोकिएकोमा त्यसको केही नजिक पुगे पनि त्यसअघिका महिनामा भएको कमजोर संकलनले हामी लक्ष्यभन्दा समग्रमा ८५ देखि ९० अर्ब न्यून संकलनको अवस्थामा छौँ,' स्रोतले भन्यो।
मन्त्रालय स्रोतका अनुसार मंसिरमा करिब ६२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो रकम मासिक प्रक्षेपणको तुलनामा ९ अर्ब रुपैयाँ कम हो।
सवारी साधनको आयात कम हुँदा भन्सारबाट संकलन हुने अन्त:शुल्क पनि बढेको छैन। यसैगरी मदिराको अन्त:शुल्कमा पनि सरकार लक्ष्यको तुलनामा निकै पछाडि छ। सरकारले चालु वर्षको आर्थिक ऐनमा राखेको मदिरा उत्पादनसम्बन्धी मापदण्डले राजस्व उद्योग नै बन्द भएपछि आर्थिक ऐन नै संशोधन गरे पनि मंसिरमा त्यसको उल्लेख्य प्रभाव नदेखिएको अर्थका अधिकारीहरु बताउँछन्।
अर्थमन्त्री डा युवराज खतिवडाले निकै महत्वाकांक्षी योजनासहित गत आर्थिक वर्षको संकलनभन्दा ३० प्रतिशतले राजस्व बढाउने घोषणा गरेका थिए। तर यो वर्षको पहिलो ५ महिनामा जम्मा ६ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।