काठमाडौं- वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि दिइने ३ दिने अभिमुखीकरण तालिम अब कार्यान्वयनमा आउने भएको छ।
एक महिनाभित्र नै ३ दिने अभिमुखीकरण तालिम कार्यान्वयनमा ल्याइने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए।
‘अभिमुखीकरण तालिम तथा यसको पाठ्यक्रममा नै केही कमिकमजोरी भएपछि हामीले पाठ्यक्रम समेत परिमार्जन गरी दैनिक ६ घण्टाका दरले जम्मा १८ घण्टा (३ दिने) तालिम प्रदान गर्न लागेका हौँ, हो व्यवस्था एक महिनाभित्रै कार्यान्वयनमा ल्याइने छ‚’ बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले भने।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई गन्तव्य मुलुकको धर्म, संस्कृति, रहनसहन, परम्परा, हावापानी, भाषा लगायत नीति नियमसम्बन्धी जानकारीका लागि अभिमुखीकरण तालिम प्रदान गरिँदै आएको छ।
श्रमिकहरुलाई उनीहरुका हकअधिकारका बारेमा जानकारी दिन साथै वैदेशिक रोजगारीको कमाइलाई स्वदेशमा कसरी सुरक्षित स्थानान्तरण गर्ने लगायत विषयमा जानकारी दिनका लागि अभिमुखीकरण तालिम प्रदान गरिन्छ।
यसअघि वैदेशिक रोजगारीमा जाने पुरुष श्रमिकहरुलाई १० घण्टा तथा महिला श्रमिकहरुलाई ११ घण्टा अभिमुखीकरण तालिम प्रदान गरिँदै आएको थियो।
अभिमुखीकरण तलिमको समय छोटो भएको तथा तालिम हतारमा दिइने हुँदा पनि वैदेशिक रोजगारीमा पुगेपछि हुने सम्भाव्यताको सोचमा उल्लेख्य परिवर्तन आउन नसकेको वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका उपाध्यक्ष विष्णु गोपाल गड्तौलाले बताए।
‘अभिमुखीकरण तालिमले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी एथेष्ट जानकारी प्राप्त हुने हुँदा, यो तलिमको परिमार्जित पाठ्यक्रमलाई वैदेशिक रोजगार बोर्डले तत्काल कार्यान्वयनमा ल्याउनु पर्दछ‚’ वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष रामराजा गौतमले भने।
हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट लागू गरिएको अभिमुखीकरण तालिम कार्यविधि २०७२ बमोजिम १ सय ५३ वटा अभिमुखीकरण तालिम प्रदायक केन्द्र सञ्चालनमा रहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।