काठमाडौं- सरकारी गाडीमा राखिएको नम्बर प्लेट नै मिलेन भन्दा पत्यार नलाग्न सक्छ। तर संशोधित यातायात व्यवस्था नियमावलीअनुसार व्यवस्था गरिएको नम्बर प्लेट राख्ने नियम सरकारले नै पालना गरेको छैन।
नियम कार्यान्वयन गर्ने निकाय प्रहरीकै सवारीमा समेत नियमानुसार नम्बर प्लेट राखेको पाइँदैन। निजी सवारीको कुरा गर्ने हो भने अधिकांशको नम्बर प्लेट गलत ढंगले लेखेर टाँसिएका छन्। कुनै सवारीको अग्र भागमा राखिएको नम्बर प्लेट गलत छ भने कुनैको पछाडि र कतिपयको दुवैतिर राखिएका नम्बर प्लेट गलत छन्।
यातायात व्यवस्था ऐन २०४९ अनुसारको नियमावलीको अनुसूचीमा सवारी साधनको नम्बर प्लेटको लट दोहोरो अंकमा हुने व्यवस्था थियो। गत वर्ष साविक बागमती अञ्चलमा मोटरसाइकल दर्ता लट दोहोरो अंक नाघ्यो। उक्त समयमा देश नयाँ संरचनाअनुसार प्रदेशमा गइसकेको थियो।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नियमावलीको अनुसूची संशोधनका लागि मन्त्रिपरिषद्मा लग्यो। त्यसमा विभागले पुरानै व्यवस्था अनुसार दर्ता गर्नेगरी लटमा दोहोरो अंकको साटो तीन अंक वा सोभन्दा बढी राख्न पाइने बनाएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा आपत्ति जनाउँदै नयाँ संरचना अनुसार प्रदेशका नाममा सवारी नम्बर प्लेट राख्नेगरी अनुसूची संशाेधनको प्रस्ताव ल्याउन लगाए।
विभागले त्यहीअनुसार प्रदेशको नाम वा संकेत, कार्यालयको कोड, लट नम्बर र सावरी नम्बर राख्नेगरी सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को अनुसूची ६ को संशोधन भयो। सुरुमा यो यातायात व्यवस्था कार्यालय मोटरसाइकल प्रदेश ३ बाट कार्यान्वयनमा आयो। हाल प्रदेश ३ कै साना/ठूला सवारी कार्यालयसहित अन्य प्रदेशका केही कार्यालयमा कार्यान्वयन भएको छ भने केहीले कार्यान्वयनको तयारी गर्दैछन्।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५ बमोजिम दर्ता भएका सवारी धनीलाई यातायात व्यवस्था कार्यालयले अनुसूची ६ मा उल्लेख भएबमोजिम प्रदेश संकेतसहित दिएको दर्ता नम्बर अनुसूची ६ को द्रष्टव्य ३ बमोजिम सवारीको अगाडि तल र माथि गरी दुई लाइनमा र पछाडि तल र माथि गरी तीन लाइनमा नम्बर प्लेट लेखी अनिवार्य राख्नु पर्छ।
तर कार्यालय र सवारी बिक्रेताले नम्बर प्लेट राख्ने तरिकाबारे पर्याप्त जानकारी गराउन नसक्दा नम्बर प्लेट जथाभावी लेखिएको छ। सरकारले कार्यान्वयनमा ल्याएको नयाँ नियम सरकारी सवारीमा नै कार्यान्वयन भएको देखिँदैन। ट्राफिक प्रहरी, नेपाल प्रहरी र सरकारी सवारीमै कुनैमा अगाडि एक लाइट, पछाडि तीन लाइन, कुनैमा अगाडि पछाडि नै एक लाइनमै लेखिएका नम्बर प्लटे टाँसिएका छन्।
यातायात व्यवस्था विभागले दुई साताअघि जथाभावी नम्बर प्लेट राख्नेलाई कारबाही गर्ने भन्दै सूचना नै जारी गर्यो। हाल प्रदेश ३ सहित अन्य प्रदेशमा समेत नयाँ व्यवस्था अनुसार सवारी दर्ता हुँदै आएको छ। सो अनुसार नम्बर प्लेट राखेको नपाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने विभागले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।