काठमाडौं- यस वर्षको अन्तर्राष्ट्रिय आप्रवासी दिवस (डिसेम्बर १८) लाई सरकारले सप्ताहका रुपमा मनाउने भएको छ।
‘सीप र रोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने मुल नाराका साथ स्वदेश तथा विदेशका विभिन्न स्थानमा समेत कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो।
आप्रवासी कामदारको रुपमा रहेका व्यक्तिको हित तथा अधिकार रक्षाका लागि आप्रवासी दिवसलाई सप्ताहका रुपमा मनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले जानकारी दिए।
‘आप्रवासी दिवस एउटा दिवसका रुपमा मात्रै नभएर हामीले एक वर्षमा आप्रवासी श्रमिकका लागि के–के ग¥यौं भनेर समीक्षा गर्ने दिन पनि हो, जसबाट हामीले गल्ती तथा कमिकमजोरी केलाउने अवसर प्राप्त गर्दछौँ, त्यसबाट समाधानको पाटोमा कसरी अगाडि बढ्ने भन्ने निष्कर्षमा पुग्न सकिन्छ’ सचिव केसीले भने ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले डिसेम्बर १८ लाई सप्ताहका रुपमा मनाउन डिसेम्बर १२ अर्थात बिहीबारदेखि नै विभिन्न कार्यक्रम तय गरिएको बताए ।
‘हामीले श्रम आप्रवासनका बारेमा आम मानिससम्म चेतना पुगोस् भन्ने हिसाबले यस वर्षदेखि सम्पूर्ण स्थानीय तहहरुमा पनि यो कार्यक्रम आयोजना गर्ने भएका छौँ, सबै स्थानीय तहमा कार्यक्रम गरिँदा सम्बन्धित व्यक्तिसम्म यो कार्यक्रमले प्रभाव पार्दछ र सबैलाई सचेत, सजग गराउन मद्धत गर्दछ’ कार्यकारी निर्देशक श्रेष्ठले भने।
सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आप्रवासी दिवसलाई सप्ताहका रुपमा मनाउन लागिएको जानकारी दिइएको छ।
सप्ताह कार्यक्रममा सरकार, विभिन्न गैह्र सरकारी संस्था, व्यवसायी, ट्रेड युनियनलगायत संघसंस्थाहरुले उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानीय तहहरुमा कार्यक्रम आयोजना गर्ने भएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले डिसेम्बर १८ मा दक्षिण कोरियामा महाभेला र डिसेम्बर १९ मा मा कुवेतमा कार्यक्रम गर्दैछ। सोही दिन मलेसियामा स्वास्थ्य परीक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ। यस्तै, डिसेम्बर १३ मा बहराइनमा ८ वटा मुलुकहरुको उपस्थितिमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।