काठमाडौं- यो साताको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर उकालो लाग्ने क्रममा छ।
यस सातामात्रै परिसूचकमा दुई दिन दोहोरो अंकको वृद्धि देखिएको छ।
सातामा कारोबारको पहिलो दिन आइतबार ३ दशमलव ४५ अंकले बढेको परिसुचक सोमबार १३ दशमलव ५१ अंकले बढेको थियो। त्यस्तै मंगलबार २ दशमलव ४८ अंकले बढेको परिसूचक बुधबार १० दशमलव ११ अंकले बढेर १ हजार १ सय ६१ दशमलव ४७ अंकमा कायम भएको छ। बुधबारको कारोबारपछि परिसुचक मंसिर महिनाकै उच्च बिन्दुमा पुगेको छ।
बुधबार १ सय ७३ वटा कम्पनीको २० लाख ४३ हजार ६ सय ५ कित्ता सेयर ७ हजार १ सय ७२ पटक किनबेच हुँदा ५५ करोड १३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। उत्पादन समूहको उपसूचक ३० दशमलव ३२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बिमा समुहको उपसूचक ७९ दशमलव २८ अंकले बढेको छ।
कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक प्रमोटरको सेयर ६ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नविल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक, एनएमबी बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर २ करोडमाथिको कारोबार भएको छ।
बुधबारको कारोबारमा सबैभन्दा धेरै कमाउनेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।