डडेल्धुरा- वर्षाैंदेखि परम्परागत खेतीमा सीमित डडेल्धुराका किसान अहिले व्यावसायिक खेतीतर्फ लागेका छन्। ५५ वर्षीय कृषक लक्ष्मण ऐर आलुको कलिलो हरियो बोट देखेर दंग छन्।
आमाबुबाले गरेकाे पेसा गर्दै आएका नवदुर्गा- ३ का ऐरले अहिले आलु खेती गरेका हुन्। ६ महिना पनि खान नपुग्ने गहुँ, धान लगाउँदै आएका ऐरले अहिले करिब ८ रोपनी जमिनमा ३ क्विन्टल आलु लगाएका छन्।
ऐरले भने, ‘पहिले हामी यी खेतहरुमा यो सिजनमा गहुँ र अर्काे ६ महिनापछि धान खेती गर्छौं। अहिले मुनाफा हुने खेती भनेर आलुखेती सुरु गरेका छौँ। बोट देखरै राम्रो होला कि भन्नेमा खुसी लागेको छ।’
उनी एक उदाहरण मात्र हुन्। यहाँका अमरगढी, परशुराम नगरपालिका, आलिताल, नवदुर्गा, गन्यापधुरा र भागेश्वर गाउँपालिकाका किसान पछिल्लो समय परम्परागत खेती छोडेर आलु खेती अँगांलेका छन्।
डडेल्धुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई लागू भएपछि कार्यालयले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कृषकलाई व्यावसायिक आलु खेतीमा ध्यान केन्द्रित गरेको अमरगढी नगरपालिका ११ का कृषक मानबहादुर बोहराको भनाइ छ। गोलभेंडा, रायो, मुला, सिमी लगायतका खेती कमै मात्र जमिनमा गरेको भए पनि बढी जमीनमा यो वर्षबाट आलु खेती थालेको उनले बताए। उनले भने, ‘घरपरिवारमा बुबाआमाले नै पहिलेदेखि तरकारी खेती कमै जग्गामा गर्ने गर्नुभएको थियो तर अहिले हामी ठूलो भूभागमा आलु खेती गरिरहेका छौँ।’
गन्यापधुरा गाउँपालिकाको जर्मना, रुवाखोला, भात्काँडा, अमरगढी नगरपालिकाको तडिबटा, पोखरा, सल्लागाउँ लगायतका क्षेत्रमा स्थानीय किसानले पहिलेदेखि अर्गानिक आलु खेती गर्दै आएका छन्। उनीहरुले यसै क्षेत्रमा बीउ आलु समेत उत्पादन गरेर कोल्डस्टोरमा राखी यस जिल्ला तथा पहाडी जिल्लाहरुमा समेत निर्यात गर्ने गरेको उग्रतारा शीत भण्डारका अध्यक्ष भोजराज भट्टले बताए। उनले भने, ‘यस जिल्लाको अमरगढीमा पहिलेदेखि आलुखेती हुन्थ्यो तर व्यवस्थित तथा व्यावसायिक थिएन। अहिले त किसान आलु मात्र उत्पादन गर्दैनन्। बीउ आलु समेत डडेल्धुरामै उत्पादन गर्छन्।’
यहाँका कृषकहरुले लामो समयदेखि गर्दै आएको गहुँ खेती छोडेर गरिरहेको व्यावसायिक आलु खेती गर्ने अनुदानमा सिंचाई पोखरी निर्माण, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, बीउमा अनुदान, कोल्डस्टोरमा राख्ने लगायतका सेवासुविधा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई आलु सुपरजोन डडेल्धुराले दिइरहेको कार्यालय प्रमुख तथा वरिष्ट कृषि विकास अधिकृत खेमराज जोशीले बताए।
डडेल्धुरामा अहिले यो सिजनमा ६५ हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको उनले जनाएका छन्। प्रमुख जोशीले भने, 'हामीले आलु खेतीमा ठूलो फड्को नै मारेका छौं। जिल्लाभर ४० हेक्टर जमिनमा आलु खेती गराउने लक्ष्य हाम्रो थियो, तर लक्ष्यको २५ हेक्टर बढी जम्मा ६५ हेक्टर क्षेत्रफलमा आलु खेती यो वर्षको एक सिजनमा भइरहेको छ।
आलुसुपर जोन डडेल्धुराले आर्थिक, प्राविधिक तथा यन्त्र-उपकरणसमेत सहयोग गर्ने गरेको गन्यापधुरा गाउँपालिका वडा ३ का कृषक लक्ष्मण ऐरले बताए। उनले भने, ‘हामी पहिले चारदेखि ८ रोपनीसम्म गहुँ खेती गर्थ्यौं। अहिले सोही जमीनमा आलु खेती सुरुवात गरेका छौ ।’
स्थानीय सरकारसहित तीनै पक्षको सहयोग परम्परागत खेतीमा सीमित भएका त्यहाँका किसानहरुले अहिले आलु खेतीको सुरुवात गरेका हुन्। डडेल्धुरा जिल्लामै अहिले बीउ आलु समेत उत्पादन हुने गरेको परियोजनाका प्रमुख जोशीले बताए।
आलुमा आत्मनिर्भर बन्दै डडेल्धुरा
डडेल्धुरा अहिले आलुमा आत्मनिर्भर रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराको दाबी छ। गत वर्ष जिल्लाबाट ३२ हजार मेट्रिक टन आलु बाहिरी जिल्ला निर्यात भएको तथ्यांक रहेको प्रमुख जोशीले बताए।
परम्परागत खेती धान, मकै र गहुँका साथै अन्य बालीको उत्पादन घटेको छ। बर्खा बेला लगाइने मुख्य बाली मकै र धानलाई पनि जगंली जनावरले नष्ट गरिरहेको अवस्थामा आलु खेती उपयुक्त रहने कृषक बताउँछन्।
आलुबाट मनग्गे आम्दानी लिन सकिने गन्यापधुरा १ का अगुवा कृषक दत्तराज अवस्थीले बताए। दशकदेखि आफू र आफ्नो परिवार आलु उत्पादनमै लागेको कृषक अवस्थीको भनाइ छ।
डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका- १ तडिवाटा, ६ दमडा र वडा नं ७ पोखराका कृषकले तीन महिने कार्डिनल जातको आलु लगाएर झन्डै दस गुणा उत्पादनबाट हजारौं आम्दानी गर्न सफल भएका छन्।
आलुबाट नै जिल्लाको पहिचान बनाउन करोडौंको लगानीमा अमरगढी १ को दहव्यारेकमा कोल्डस्टोर पनि निर्माण गरिएको छ। अहिले कोल्डस्टोरमा बीउका लागि आलु राखिएको सञ्चालकले बताए। आलुको मूल बीउ उत्पादनका लागि ६३ लाखमा स्क्रिन हाउसको भवन निर्माण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।