काठमाडौं- सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले ११ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)माथि एकैपटक अनुसन्धान अघि बढाएको छ। सम्पूर्ण वाणिज्य बैंकका प्रमुखमाथि सामान्य अनुसन्धान थालेको विभागले ११ जना सिइओमाथि भने सघन अनुसन्धान अघि बढाएको हो।
'बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीमाथि विभागको यसअघिदेखि नै निगरानी गरिरहेका थियौँ, त्यसमध्ये ११ जनाको विस्तृत अनुसन्धान अघि बढाइएको छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो। सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमातहत ल्याइएपछि यसले सक्रियता बढाउँदै लगेको छ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्दा अनियमितिता गर्ने र गलत तरिकाबाट लाभ उठाउने गरेको गुनासो आएपछि विभागले साउनमा वाणिज्य बैंकको ऋण शाखामा काम गर्ने उच्चस्तरका कर्मचारी र सिइओको विवरण संकलन गरेको थियो। त्यसपछि निरन्तर यो विषयमा अनुसन्धान अघि बढाइएको र गहन विषय फेला परेका ती ११ जानमाथि भने विस्तृत अनुसन्धान अघि बढाइएको स्रोतले जानकारी दिएको छ।
सम्पत्ती शुद्धीकरणको अनुसन्धानको दायरामा नेपाल बैंकर्स संघकै पदाधिकारी रहिसकेकादेखि नयाँ बैंकरहरु परेका छन्। उनीहरुले कर्जा प्रवाह गर्दा गलत मनसाय राखेको देखिएको स्रोतले दावी गरेको छ। 'हामी अनुसन्धानकै क्रममा छौँ, पुरानादेखि नयाँ सिइओहरुलाई अनुसन्धानको दायरामा ल्याइएको छ,' स्रोतले नेपाल लाइभसँग भन्यो।
सबैभन्दा बलियो सुपरीवेक्षण र नियमनको दायरामा रहेको बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो पदीय दायित्व र जिम्मेवारीको दुरुपयोग गर्दै कमसल धितोमा ऋण दिने, ऋणीसँग अनुचित लाभ लिने र कर्जा दुरुपयोगसमेत गरेको प्रमाणहरु भेटिएको अनुसन्धानबाट खुलेको स्रोतले दावी गरेको छ।
सम्पत्ती शुद्धीकरणले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुमाथि एकैपटक ठूलो संख्यामा अनुसन्धान अघि बढाएको यो पहिलोपटक हो। सम्पत्ती शुद्धीकरण निवारणमा नेपालले गरेको प्रगतिको समीक्षा हुन अब केही महिना बाँकी छ। नेपालमा गैरकानुनी सम्पत्तीको उपयोगबाट गलत क्रियाकलाप हुन रोक्ने महत्वपूर्ण जिम्मेवारी पाएको विभागले त्यसअघि नै केही महत्वपूर्ण क्षेत्रमा अनुसन्धान अघि बढाएको हो।
बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सम्पत्तीमा अस्वाभाविक वृद्धि देखिएपछि पनि अनुसन्धान अघि बढाइएको स्रोतको दावी छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलबमाथि अर्थमन्त्री डा युवराज खतिवडाले पनि असन्तुष्टि जनाएका थिए।
यसरी संकलन गरिएको थियो विवरण
विभागले बैंक तथा वित्तीय संस्थाबाट सम्पत्ति शुद्धीकरणको दृष्टिकोणमा जोखिमयुक्त क्षेत्रमा ऋण प्रवाह भइरहेको आशंकमा सम्पूर्ण बैंकका कर्जा शाखामा काम गर्ने उच्च अधिकृतहरु र सिइओको विवरण संकलन गरेको थियो। नेपालमा सम्पत्ति शुद्धीकरणका लागि जोखिमपूर्ण मानिएको घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरुबाट अधिक ऋण प्रवाह भएको र त्यस्तो ऋण प्रवाह गर्दा जोखिमको उपयुक्त मूल्यांकन नभएको विभागको आशंका छ।
बैंक तथा वित्तीय संस्थाले खराब धितोमा ऋण प्रवाह गरी अवैध कारोबारलाई वैध बनाउन सहयोग गरेको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो। नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी इकाइ तथा विभागबीच भएको छलफलमा सम्पत्ती शुद्धीकरणमा सहयोग पुग्ने गरी बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भइरहेको विषयले प्रवेश पाएपछि विभागले सबैको विवरण खोजेको हो।
बैंकहरुले ऋण दिएका ठूला फाइलको अनुसन्धानपछि विभागले सिइओहरुमाथि सघन अनुसन्धान अघि बढाएको अनुसन्धानमा संलग्न रहेका अधिकारीहरुले बताएका छन्। गैरकानुनीरुपमा नेपाल आउने रकम आतंकवादी गतिविधिमा परिचालन नभए पनि घरजग्गा, सुन कारोबार र थोरै मात्रामा सेयर बजारमा प्रयोग भइरहेको आशंकामा विभागले ती क्षेत्रमाथि निगरानी बढाइसकेको छ। सम्पत्ती शुद्धीकरणले बैंकहरुमाथि ठूला मुद्दा भने अहिलेसम्म चलाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।