काठमाडौं- नर्सिङ केयरका लागि पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजाने गरी अक्टोबर र नोभेम्बरमा लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।
दुई महिनाको भाषा परीक्षामा ५६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएको फाउन्डेसनले जनाएको थियो।
अक्टोबर र नोभेम्बरमा गरी जम्मा ५६ जना उत्तीर्ण भएका हुन्। अक्टोबरमा लिएको सिप परीक्षामा भने एक जना परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन्। नोभेम्बरको सिप परीक्षाको नतिजा बारे फाउन्डेसनले खुलाएको छैन।
फाउन्डेसनले अक्टोबर तथा नोभेम्बरमा नेपालसँगै मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सबाट नर्सिङ केयरका लागि जान इच्छुकहरुलाई लक्की ड्रमार्फत छनोट गरी भाषा परीक्षामा सामेल गराएको थियो।
नेपालबाट जापान जान भाषा परीक्षामा सामेल हुन इच्छुक ५ सय ९ जनाले आवेदन दिएका थिए। जसमध्ये अक्टोबर तथा नोभेम्बर दुई चरणको परीक्षामा ४ सय ९७ जनाले भाषा परीक्षा दिएका थिए। ४ सय ९७ जना मध्ये ५६ जना अर्थात् ११ दशमलब ३ प्रतिशत उत्तीर्ण भएका हुन्।
मंगोलियाबाट ६० जना परीक्षार्थीमध्ये ३७ जना उत्तीर्ण भएका छन्। इन्डोनेसियाबाट ३ सय ४० परीक्षार्थीमध्ये १ सय २९ उत्तीर्ण भएका छन्। कम्बोडियाबाट ९१ सहभागीमध्ये २२ जना उत्तीर्ण भएका छन्। र, फिलिपिन्सबाट ६ सय ४२ सहभागीमध्ये २ सय ६८ जना उत्तीर्ण भएका छन्। नेपालसँगै जापानिज भाषा परीक्षामा सहभागी भएका अन्य मुलुकको परीक्षाफलको तुलना गर्दा नेपालको परीक्षाफल सबैभन्दा कमजोर देखिएको छ।
देशमा निम्तिएको कामदार संकट व्यवस्थापन गर्न जापानले १४ वटा क्षेत्रमा आप्रवासी श्रमिकहरु लैजाने तयारी गरेको छ। जसमा स्याहार कर्ता (नर्सिङ केयर), भवन सरसफाइ व्यवस्थापन (आन्तरिक भवन), उपकरण उत्पादन सम्बन्धी उद्योग, इलेक्ट्रिक उद्योग, निर्माण उद्योग, पानीजहाज निर्माण उद्योग तथा पानीजहाज मेसिनरी उद्योग, अटोमोबाइल मर्मत सम्भार, एभिएसन उद्योग (विमानस्थल ग्राउन्ड ह्याण्डलिङ, मर्मत), आवास उद्योग (सत्कार तथा रेष्टुरेन्ट), कृषि (खेतीपाती, गोडमेल, उत्पादन, प्रशोधन), माछापालन र अक्वाकल्चर, खाना र पेय पदार्थको उत्पादन, तथा खाद्य सेवा उद्योग छन्।
यी क्षेत्रका लागि ५ वर्षमा ३ लाख ४५ हजारभन्दा बढी आप्रवासी कामदार भित्र्याउने नीति जापानले अघि सारेको छ। सबै क्षेत्रका लागि छुट्टाछुट्टै भाषा परीक्षा तथा सिप परीक्षण गर्ने उल्लेख गरिएको छ।
नेपालबाट कुन क्षेत्रमा कति कामदार लैजाने भन्ने बारेमा भने खुलाइएको छैन।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।