काठमाडौं- जसले ३ वर्षको उमेरदेखि नै बाबाको न्यानो काख पाइनन्। गरिबी र संघर्षले परिवारलाई थिच्यो। जीवन गुजाराकै लागि आमाले चितवनदेखि काठमाडौंसम्म ल्याइन्। स्नातक तेस्रो वर्षमा अध्ययन गर्दागर्दै बीचमै पढाइ छाडेर दिदी दुबई भासिइन्।
आमाको जेनतेन कमाइ, दिदीले खाडी मुलुकमा बगाएको पसिना र आफ्नो संघर्षबाट खारिएकी स्वर्ण विजेता खेलाडी हुन्, पुनम श्रेष्ठ।
उनले ७८ किलोमुनिको तौल समूहमा बंगलादेश, भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै १३ औं सागमा जुडोमा स्वर्ण जितिन्। १२ औं सागमा कास्य पदक जित्दै पुनमलाई लागेको थियो- मैले अर्कोपटक स्वर्ण जित्नैपर्छ।
स्वर्ण जितेपछि खेलाडीका आ-आफ्नै महत्वाकांक्षा र योजना हुन्छन्। तर पुनमको भने कुनै ठूलो योजना छैन। आफूले पाएको मेडल र सम्मानबाट आएको पैसाले बस्ने बासको जोहो गर्ने सपना छ उनको।
खेलअघि पनि आमासँग फोनमा कुरा भएको थियो उनको। त्यसबेला आमाले भनेकी थिइन्, ‘गोल्डमेडल जित्नुपर्छ। घर बनाउनुपर्छ है छोरी।’
उनीहरुको अहिलेसम्म बस्ने ओतसमेत छैन। भाडामा बस्दै आएका छन् ।‘सागमा गोल्डमेडल ल्याएर बनाउनुपर्छ, दिदीले जग्गा किनी, अब तिम्रो पालो घर बनाउने भनेर ममीले भन्नु भएको थियो। मेरो घर बनाउने लक्ष्य पूरा हुने भयो,’ आमाले भनेको कुरा सम्झँदै पुनमले भनिन्।
उनकी दिदी अहिले पनि दुबईमा छिन्। त्यहाँ पसिना बगाएको पैसाले उनीहरुले एउटा घडेरी किनेका छन्। तर घर बनाउन भने अहिलेसम्म सकेका छैनन्।
कमजोर आर्थिक अवस्था हुँदाको पीडाबारे केही भावुक हुँदै पुनमले भनिन्, ‘अब दिदीले विदेशमा बसेर मेरा लागि भनेर यत्रो दुःख गर्नुभएको छ। मैलेचाहिँ मेरो आफ्नो कर्तव्य पनि गरेर देखाउनुपर्छ भन्ने लागेको थियो,’ पुनमले भनिन्, ‘म साग गेम खेलेर घर बनाउँछु ममी भनेको थिएँ। अब सम्मानबाट आएको पैसाले घर बनाउँछु, मेरो सपना पूरा हुने भयो।’
राष्ट्रले सम्मानको रुपमा दिएको पैसाले घर बनाउने योजना छ उनको। परिवारमा ममी भाइ र दिदी छन्। बाबाले उनी सानै छँदा छाडेर हिँडेका थिए।
विदेशमा दुःख गरेर कमाएको पैसा बहिनीले खेल खेलेर त्यसै फाली भन्ने सोचेर दिदीले कहिलेकाहिँ पुनमलाई खेल नखेल्न भन्थिन्। ‘दिदीले कहिलेकाहिँ त नखेल भन्नुहुन्थ्यो। यत्रो वर्ष सम्मको लगानी छ। अब केही त गर्नैपर्छ भनेर छाड्न सकिनँ। मेरो पनि पालो आउला भनेर कुरेर बसेको थिएँ, सायद आज पूरा भएको छ,’ पुनमले भनिन्।
आफ्नो गाँस काटेर खेलेको खेलबाट प्राप्त गोल्डमेडल उनले दिदी, ममी, गुरु र देशलाई ‘डेडिकेट’ गर्न चाहेको बताइन्। ‘यत्रो वर्ष जुडो खेलेको थिएँ। त्यो मिहिनेतको फल दिन चाहन्थें, त्यो आज पूरा भएको छ,’ जितपछिको खुसीमा पुनमले भनिन्।
१२ औं सागबाट धेरै कुरा सिक्ने अवसर पाएकाले नै आज गोल्डमेडल जित्न सफल भएको उनको अनुभव छ। ‘१२ औं सागबाट धेरै कुरा सिक्ने मौका पाएँ। मैले मिहिनेत गर्नैपर्छ, अर्को सागमा गोल्डमेडल ल्याएर देखाउनै पर्छ भन्ने लागेर त्यहीअनुसार मिहिनेत गरेको थिएँ, आज एकदमै खुसी छु,’ पुनमले भनिन् ।
उनले गेममा डिस्टर्ब हुन्छ भनेर मोबाइलमा समेत ब्यालेन्स नहाली गेम खेलेकी थिइन्। ‘मोबाइलमा ब्यालेन्स पनि हालेको छैन। माइन्ड डिस्टर्ब हुन्छ भनेर, ब्यालेन्स हालेपछि फोन गरिरहन मन लाग्छ,’ पुनमले खेलमा आफ्नो लगनशीलता देखाइन्।
फाइनल खेल्नुअघि साथीको फोनबाट आमासँग उनको कुरा भएको थियो। भनिन्, ‘जतिखेर पनि ममीका लागि जित्नुपर्छ भन्ने लागेको थियो। जितियो। एकदमै खुसी छु।’
आमाले छोरीको खेल ४ बजेपछि टेलिभिजनमा हेर्ने बताएकी थिइन्। ‘सायद ममीले टिभीबाटै थाहा पाउनु भयो होला,’ उनले भनिन्। १४ वर्षअघिबाट जुडो खेल्न थालेकी पुनमले सुरुमा प्रशिक्षक चन्द्रकुमार डंगोलबाट सिकेकी थिइन्। उनको अब ओलम्पिक खेल्ने लक्ष्य छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।