काठमाडौं- सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीच जारी विवादमा कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन पनि विभाजित देखिएको छ।
कान्तिपुर दैनिक र डाक्टर गोविन्द केसी विरुद्ध अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलास बहिष्कार गर्ने न्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्णयबारे बारका पदाधिकारी दुई पक्षमा विभाजित भएका हुन्। सोमबार साँझ नेपाल बारको एक समूहले विज्ञप्ति निकाल्दै न्यायाधीश न्यायाधीश राणाले आचारसंहिता विपरीतको काम गरेको भन्दै उनको कदमको निन्दा गरेको थियो।
त्यसबारे मंगलबार बारका उपाध्यक्ष उषामल्ल पाठक, सदस्यहरू विष्णु बस्याल सदस्य कृष्ण आङ्देम्बेले विज्ञप्ति निकाल्दै पदाधिकारी बैठक नै नगरी धारणा सार्वजनिक गरिएको टिप्पणी गरेका छन्। अध्यक्ष र महासचिवले विज्ञप्ति निकालेको २४ घन्टा नबित्दै बारका उपाध्यक्ष र सदस्यहरुले सो विरुद्ध विज्ञप्ति जारी गरेका हुन्।
कुनै पनि गम्भीर विषयमा निर्णय गर्नुअघि सल्लाहकार समितिको बैठकबाट राय लिने र पदाधिकारी बैठकपछि बारको आधिकारिक निर्णय गर्ने परम्परा रहेकोमा त्यसलाई मिचिएको आरोप उनीहरुले लगाएका छन्।
‘डाक्टर केसी र कान्तिपुर दैनिकको मुद्दा बृहत् पूर्ण इजलासमा तोकिएकोमा उक्त इजलासका एक जना न्यायाधीश चोलेन्द्र शमशेर जबराबाट जारी भएको वक्तव्यलाई न्यायमूर्तिको आचारसंहिता विपरीत र अदालतमाथिको प्रहार भएको नेपाल बारको ठम्याइ छ’, सोमबारको विज्ञप्तिमा भनिएको थियो, ‘उहाँले गरेको उक्त कार्यबाट गलत प्रक्रिया र पद्धतिको सुरुवात भएको हुँदा त्यसप्रति नेपाल बार भर्त्सना गर्दछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।